Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तरकारी लगायत खाद्यवस्तुको मूल्यवृद्धि गत वर्षको तुलनामा दोब्बर


    मंगलबार, भाद्र ९ २०७७
    2.5K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ । कोभिड १९ का कारण बेरोजगारी बढिरहेको अवस्थामा खाद्यान्नको मूल्य पनि अकासिएको छ। दैनिक उपभोग्य वस्तु खाद्यान्न र तरकारीको मूल्य बढेपछि आम्दानी कम हुनेलाई भान्सा चलाउन हम्मेहम्मे परेको छ।  

    काठमाडौं उपत्यकालगायत मुलुकका ५२ जिल्लामा निषेधाज्ञाका कारण खपत घटिरहेका बेला केही तरकारीको भाउ सतप्रतिशतसम्म महँगो भएको छ। तरकारीको खपत घटेको बेला मूल्य घट्नुपर्नेमा ठीक उल्टो भएर भाउ बढेको हो। कोरोनाका कारण क्रयशक्ति गुमाइरहेका बेला महँगी बढेपछि दैनिक ज्यालादारी गर्ने, निजी क्षेत्रमा काम गर्ने, सानोतिनो व्यवसाय गर्ने र विद्यार्थी मर्कामा परेका छन्।  

    नेपाल राष्ट्र बैंकका अनुसार खाद्यवस्तुको मूल्य वृद्धि दर गत सालको तुलनामा दोब्बरभन्दा बढी छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार खाद्य तथा पेय पदार्थमा मुद्रास्फीति ८.१६ प्रतिशत पुगेको छ। पोहोरको तुलनामा मुद्रास्फीति ५.०७ प्रतिशतले बढेको हो। पोहोर खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति वृद्धिदर ३.०९ प्रतिशतमा सीमित थियो।कोरोनाको कारण उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा हुँदा आयात तथा ढुवानीमा कठिनाइ भएपछि भाउ बढेको व्यापारी बताउँछन्।  

    गत वर्षको तुलनामा आलुको भाउ एक सय १९ प्रतिशत बढेको छ। पोहोर भदौ पहिलो साता २६ रूपैयाँ किलोमा बिक्री भएको आलु अहिले बढेर ५९ रूपैयाँ पुगेको छ। काउलीको भाउ करिब सतप्रतिशत बढेको छ।पोहोर ६८ रूपैयाँमा बिक्री भएको स्थानीय काउलीको मूल्य एक सय ३५ रूपैयाँ पुगेको छ।

    कालीमाटीमा गोलभेंडाको थोकमूल्य ७० रूपैयाँ किलो भए पनि खुद्रामा एक सय रूपैयाँ किलोमा बिक्री भइरहेको छ। घिउसिमी मूल्य एक सय ४० प्रतिशत, परवल ८३ प्रतिशत, भिन्डी ९४ प्रतिशत र सागको मूल्य ५० प्रतिशतले बढेको छ। अहिले घिउसिमी किलोको एक सय ४० रूपैयाँ, भिन्डी ६८ रूपैयाँ, साग ८५ रूपैयाँ किलोमा बिक्री भइरहेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ।

    खपत घट्दा मूल्य घट्नुपर्नेमा तरकारीको भाउ बढेकोमा तरकारी व्यापारी पनि आश्चर्यमा छन्। ‘खुला बजारको सिद्धान्तअनुसार खपत घटेपछि प्रतिस्पर्धामा भाउ घट्नुपर्ने हो,’ तरकारी तथा फलफूल व्यवसायी महासंघका अध्यक्ष खोमप्रसाद घिमिरेले भने, ‘मूल्य बढेकोमा हामी पनि अचम्मित छौं।’

    उत्पादन कम भएकाले मूल्य बढेको घिमिरेको तर्क छ। अहिले भारत, तराईका जिल्लाबाट तरकारी नआएकाले राजधानी आसपासको तरकारीले मात्र बजारको माग नधानेकाले मूल्य बढेको उनले बताए। ‘चैतदेखि लकडाउन हुँदा समयमा बीउविजन मल नपाएका कारण किसानले कम तरकारी लगाए,’ उनले भने, ‘उत्पादन कम भएकाले भाउ बढ्यो।’ कालीमाटी तरकारी बजारमा दैनिक सात सय टन तरकारी बिक्री हुने गरेकोमा अहिले साढे पाँच सय टन मात्र बिक्री भइरहेको छ।दैनिक उपभोग्य वस्तु दाल, मैदा, तेल, चिनी, चालम लगायत वस्तुको मूल्य पनि बढेको छ। कोभिडको कारण मुलुक लकडाउन र निषेधाज्ञामा गएपछि दैनिक उपभोग्य वस्तुमा किलोमा पाँचदेखि १५ रूपैयाँसम्म मूल्य बढेको खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए। श्रेष्ठका अनुसार चामलको मूल्य बोरामा एक सय रूपैयाँसम्म बढेको छ। चिनीको भाउ ८० बाट बढेर किलोको ९० रूपैयाँ पुगेको छ। दालको मूल्य किलोमा १५ रूपैयाँ बढेर मास र रहरको दाल एक सय ६०, मुसुरोको एक सय २५ रूपैयाँ किलो पुगेको छ। खाने तेलको भाउ पनि लिटरमा १५ रूपैयाँ बढेको छ। सनफ्लावर तेल लिटरको एक सय ६५, तोरी तेल दुई सय रूपैयाँ पुगेको छ। चामलको भाउ बोरामा एक सय रूपैयाँसम्म बढेको छ। अहिले सोना मनुसुली चामल बोरा (२५ किलो) को १६ सय ५० रूपैयाँ, जिरा मसिनो बोराको १७ सय ५० रूपैयाँ, लङरेन्ज चामल ब्राण्ड अनुसार २४ सयदेखि २६ सय रूपैयाँसम्म पुगेको छ।  

    डलरको भाउ वृद्धि, ढुवानीको लागत बढ्नुलगायतका कारण खाद्यवस्तुको भाउ बढेको नेपाल खुद्रा व्यापार संघका पूर्व अध्यक्ष पवित्र कुमार बज्राचार्य बताउँछन्। ‘उत्पादन लागत बढेको भन्दै भाउ बढाएका छन्,’ पूर्व अध्यक्ष बज्राचार्यले भने, ‘खाद्यान्नको तुलनामा तरकारीको भाउ अचाक्ली बढेको छ।’ आजको नागरिक दैनिकबाट 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार