ओखलढुङ्गा । ओखलढुङ्गाको लिखु गाँउपालिकाका उपाध्यक्ष शान्ता ढुंगेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी गाउँपालिकामा कोरोना रोकथामका लागि सचेतना फैलाउन, क्वारेन्टाइन व्यवस्थापन गर्न र संक्रमितको उपचारको व्यवस्थापनमा खटिँदै आएकी थिइन् ।
गाउँपालिकाको कामको शिलशिलामा काठमाडौं पुग्दा उनको स्वास्थ्यमा समस्या देखिएपछि स्वाब परीक्षण भएको र नतिजा पोजेजिभ आएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए ।
उपाध्यक्ष ढुंगेलको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेशनमा रहेको बताइएको छ ।
‘स्वास्थ्यमा खासै समस्या रहेको छैन । घरैमा बसेर आराम गरिरहेको छु । छिट्टै कोरोनालाई जितर गाउँपालिकाको काममा फर्किने छु’, उनले भनिन् ।
यसअघि जिल्लाका जनप्रतिनिधिमा कोरोना सङक्रमण देखिएको थिएन । लिखु गाउँपालिकामा कोरोनाको संक्रमण देखिएको थियो । जिल्लामा अहिले दुई जना सक्रिय कोरोना संक्रमित छन् । उनीहरुको जिल्ला अस्पताल रुम्जाटारमा उपचार भैरहेको छ ।