काठमाडौं । प्रमुख राजनीतिक दलहरू बिहीबार रातिसम्म नयाँ राष्ट्रपति निर्वाचनमा कसरी अघि बढ्ने भन्ने ठोस समझदारीमा पुग्न सकेका छैनन्। एमालेको समर्थनमा पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएसँगै बनेको नयाँ सत्ता गठबन्धनमा अविश्वास चुलिए पनि अर्को समीकरण बन्न सकेको छैन।
नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरूबीच बुधबार साँझ भएको भेटमा प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनअघिकै पाँच दलीय गठबन्धन ब्युँताउने समझदारी बनेको दाबी गरिएको थियो। अन्य दलहरूसँगको छलफलपछि बिहीबार साँझ बस्ने पाँच दलको बैठकमा नयाँ सहमति गर्ने नेताहरूले बताएका थिए। तर बिहीबार पाँच दलको बैठक बस्न सकेन।
माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले बिहीबार नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सँग दुईपक्षीय र बहुपक्षीय छलफल गरे। साँझ कांग्रेस र एमालेबाहेक माओवादी केन्द्र, नेकपा एस र जसपाको बैठक बस्यो। बैठकले कांग्रेस र एमालेसँग कुरा गर्ने जिम्मेवारी प्रधानमन्त्री दाहाललाई दिएको छ। दाहालले शुक्रबार बिहान कांग्रेसका नेता र दिउँसो एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुरा गर्नेछन्।
पछिल्लो समय दाहाललाई भेट्न बालुवाटार धाउँदाधाउँदै ओली हैरान भएका छन्। दाहालको दोहोरो चरित्रका कारण पनि ओली रुष्ट छन्। तर ओली माओवादी केन्द्र पुस १० गतेको सहमति छाडेर कांग्रेससँग मिल्न नजानेमा ढुक्क छन्। उनले बिहीबार आयोजित एक कार्यक्रममा यस्तै आशयको अभिव्यक्ति दिए। माओवादी केन्द्र, जसपा र नेकपा एसले शुक्रबार दाहालले ओलीसँगको छलफल गरेपछि कांग्रेससहित चार दलको बैठक बस्ने समझदारी गरेका छन्। कांग्रेससँगको छलफलपछि मात्र राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने समझदारी भएको दाबी एक नेताले गरे। कांग्रेससमेतको समर्थनमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिमा अघि सार्ने तीन दलको मोटामोटी तयारी छ। कांग्रेस नेकपा एसका अध्यक्ष नेपाललाई दाहालपछिको सरकारको नेतृत्व दिनेगरी राष्ट्रपति आफूले लिने पक्षमा छ। तीन दलीय बैठकपछि जसपा नेता राजेन्द्र श्रेष्ठले शुक्रबारको छलफलपछि मात्र नयाँ गठबन्धन बन्ने वा नबन्ने निर्धारण हुने दाबी गरे। ‘शुक्रबार हामी तीन दल र कांग्रेसबीच छलफल गर्ने सहमति भएको छ,’ श्रेष्ठले पत्रकारसँग भने, ‘त्यसपछि नयाँ गठबन्धन बन्छ कि बन्दैन भन्ने तय हुन्छ।’
नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले दलीय छलफल जारी रहेकाले ठोस सहमति भइनसकेको बताए। दाहालले बिहीबार नेकपा एसका अध्यक्ष नेपालसहितका नेतासँग संसदीय दलको कार्यालय सिंहदरबारमा छलफल गरेका थिए। त्यसक्रममा पुरानो पाँच दलीय गठबन्धन ब्युँताउने, तत्कालीन नेकपालाई निरन्तरता दिनेलगायत विभिन्न विकल्पमा छलफल भयो। दाहालले जसपा अध्यक्ष उपेन्द्र यादवसँगको भेटमा नेकपा एसका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाए पनि आफ्नो दलको समर्थन रहने बताएका थिए। यादवले उपराष्ट्रपति आफ्ना दलले पाउनुपर्ने दाबी पेस गरेका थिए।
कांग्रेस र सत्ता साझेदार एमालेले मुलुकमा विकसित राजनीतिक घटनाक्रम र राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउन आआफ्ना दलको बैठक बोलाएका छन्। पुरानो पाँचदलीय गठबन्धन ब्यँुताएर नयाँ राष्ट्रपति आफ्नो पक्षमा पार्न चाहेको कांग्रेसले शनिबार बिहान ८ बजे कार्यसम्पादन समितिको बैठक बोलाएको छ। एमालेले पनि शनिबार बिहान नै सचिवालय बैठक बोलाएको छ। यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend