Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुख्यमन्त्री शाह भन्छन्- मेरो नेतृत्वमा सुदूरपश्चिम सरकार पाँच वर्ष चल्छ


    सोमबार, फाल्गुन ८ २०७९
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री कमलबहादुर शाहले आफ्नो नेतृत्वमा रहेको वर्तमान सरकार नै आगामी पाँच वर्षसम्म चल्ने दाबी गरेका छन्।

    आज सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आफ्नो नेतृत्वमा रहेको सरकार पुरै कार्यकाल चल्ने बताएका हुन्।

    यसअघि नेकपा एमालेबाट मुख्यमन्त्री भएका राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि उक्त सरकार ढलेर नेपाली कांग्रेसका संसदीय दल नेता शाहको नेतृत्वमा नयाँ सरकार बनेको हो ।

    उक्त प्रदेश सभा बैठकबाट विश्वासको मत कहिले लिने तयारी छ भन्ने प्रश्नमा उनले छिट्टै विश्वासको मत लिने र यो सरकार पाँचै वर्ष चल्ने बताए।

    ‘एक्लै कुनै दलसँग पनि बहुमत छैन। यो सरकार ५ वर्ष टिक्नुपर्छ भनेर हामीले दलहरूसँग पनि छलफल गरिरहेका छौं,’ उनले भने, ‘सुदूरपश्चिममा मध्यावधि चुनाव हुँदैन, यही सरकार पाँच वर्ष चल्छ।’

    उनले मन्त्रिपरिषदमा अहिले ३ जना रहेको र बाँकी मन्त्री छिट्टै नियुक्त गर्नेबारे छलफल भइरहेको पनि बताए। ‘प्रदेश सरकारलाई छिट्टै पूर्णता दिने हो,’ उनले भने।

    उनी मुख्यमन्त्री बनेको ११ दिन भइसकेको छ। ३० दिनभित्र प्रदेश सभा बैठकबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

    ७ सांसद भएको नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री शाहलाई विश्वासको मत दिने वा नदिनेबारे प्रष्टाइसकेको छैन। जेलमा रहेका रेशम चौधरीलगायत नेताहरूलाई रिहाइ गरिनुपर्ने अडान नागरिक उन्मुक्तिको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार