Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सचिवालय बैठकमा किन कड्किए वामदेव ?


    सोमबार, भाद्र १ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । गत शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जारी विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरे । सोमबार भने केन्द्रीय सचिवालयको बैठकले सो निर्णयलाई अनुमोदन गर्‍यो ।

    तर सोमबारको सचिवालय बैठकमा सहजै सो निर्णय अनुमोदन भने भएको थिएन । आजको बैठकमा आफ्नो भनाई अनुसार कार्यदल गठन भएकोमा खुशी रहेका अध्यक्ष प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक सुरु गर्न आग्रह गर्दै चुप बसे ।

    प्रचण्डले बैठक सुरु गर्दै कार्यदल गठन भएको जानकारी गराएपछि नेकपा उपाध्यक्ष वामदेव गौतम कड्किए । दुई अध्यक्षले गठन गरेको कार्यदलसँग उनी असन्तुष्ट रहेको आफ्नो कडा भनाईबाट प्रष्ट पारे । 

    ‘विवाद समाधान गर्न कार्यदल गर्न आवश्यक थियो ?’, उनले धमाधम प्रश्नको चुली लगाउँदै भने, ‘पार्टीको विवादलाई निकास दिन सचिवालयले नसक्ने हो ?’ 

    उनको प्रश्न यतिमा सिमित भएन। उनले थपे, ‘सचिवालय हुँदाहुँदै स्थायी समिति सदस्यको टोली बनाएर सचिवालयलाई अवमूल्यन गर्ने? ‘

    पछिल्लो समय कुनै गुटमा नलाग्ने भन्दै स्वइच्छाले एक्लिएका वामदेव कार्यदल गठन भएदेखि नै असन्तुष्ट थिए । अझ कार्यदलको बैठक आफ्नै निवास नजिकै भएको जानकारीले उनलाई असह्य भएको नेकपानिकट स्रोतले बताए । उनले आफ्नो असन्तुष्टि प्रम ओलीसँग यसअघि नै जाहेर गरिसकेका छन् ।

    सचिवालय बैठकको माहोल रन्काएपनि वामदेवको आजको कड्काइको कुनै अर्थ नरहेको बुझिएको छ । नौ सदस्यीय सचिवालयमा अन्य आठ जना कार्यदलको पक्षमा रहेपछि वामदेवको भनाईले मात्र कार्यदल विघटनको सम्भावना नै थिएन । झोंक्किएका वामदेवले कार्यदलले सिफारिस गरेमा दुईटै अध्यक्षले राजीनामा दिने हो? भनेर समेत प्रश्न गरेको स्रोतको दावी छ । 

    तर वामदेवका प्रेस सहयोगी विश्वमणि सुवेदीले भने यसको खण्डन गरेका छन् । आजको बैठकमा उपाध्यक्ष वामदेवले कसैको राजीनामा नमागेको उनले प्रष्ट पारे । जारी विवाद समाधानको लागि उपायहरु सचिवालयले पत्ता नलगाइ कार्यदल गठन गर्दा नेतृत्व असफल भएको हो भन्ने प्रश्न मात्र गरेको भन्दै वामदेवको भनाइ उदृत गर्दै सुवेदीले बताए । 

    समस्या आफैंले सिर्जना गरेकाले आफैंले नै समाधान गर्नुपर्ने आशय मात्र राखेको र कार्यदलको विरुद्धमा वामदेव नरहेको उनले ठोकुवा गरे । 

    तर कार्यदल गठन अघिसम्मदुई ६ बुँदे प्रस्तावले नेकपाको संकटमोचन गर्ने ठानेर दंग परेका वामदेव कार्यदल गठनसँगै चिढिएका थिए । आफ्नो प्रस्तावलाई उपेक्षा गरेको वामदेवले बल्ल बुझेको सचिवालय निकट स्रोतले बताए  । सोहीकारण वामदेव आज कड्किएको ती स्रोतको बुझाई रहेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार