Nepal Face
  • आइतबार, १० साउन २०८३
  • फूलमालासहित रेशम चौधरीलाई स्वागत गर्न डिल्लीबजार कारागार पुगे कार्यकर्ता


    सोमबार, मंसिर २६ २०७९
    630
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरी रिहा हुने हल्लाले उनका नेता कार्यकर्ताहरु फूलमालासहित काठमाडौँको डिल्लीबजार कारागार पुगेका छन् । 

    चौधरीलाई स्वागत गर्न भन्दै केही कार्यकर्ताहरु झण्डा र फूलमालासहित कारागार अगाडि गएर बसेका हुन्। सरकारले थरुहट आन्दोलन, नेकपा विप्लवलगायत राजनीतिक पार्टीका नेता कार्यकर्तालाई छुटाउन अध्यादेश ल्याउने निर्णय गरेलगत्तै सोमबार बिहान डिल्लीबजार कारागारमा रहेका रेशम चौधरी छुट्ने हल्ला चलेको हो ।

    २०७२ सालमा कैलालीको टीकापुरमा थरुहटले गरेको आन्दोलनमा झडप हुँदा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित नेपाल प्रहरीका पाँच जना, सशस्त्र प्रहरीका दुई जना र एक बालक गरी आठ जनाको मृत्यु भएको थियो । सोही घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजायँ भोगिरहेका छन् ।

    आइतबार बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ । 

    सत्ता स्वार्थका लागि रेशम चौधरीलाई रिहा गर्न अध्यादेश ल्याएको भन्दै सरकारको चर्को आलोचना समेत भइरहेको छ ।

    मंसिर ४ गते आमनिर्वाचन सकिएलगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कारागारमै गएर चौधरीलाई भेटेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार