काठमाडौं । भारतीय विदेश मन्त्री डा. एस जयशंकरको गलत अभिव्यक्तिको परराष्ट्र मन्त्रालयले खण्डन गरेको छ । जयशंकरले गौतम बुद्ध महान् भारतीय भनेका थिए ।
सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्रालयका आधिकारिक प्रवक्ताले भनेको कुरा उल्लेख गर्दै मन्त्रालयले बुद्ध नेपालमा जन्मिएको निर्विवाद एवं ऐतिहासिक र पुरातात्विक तथ्य रहेको विज्ञप्तिमार्फत दावी गरेको हो ।
‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने ऐतिहासिक र पुरातात्विक प्रमाणका आधारमा स्थापित कुरा हो। बुद्धको जन्मभूमि बुद्धिज्मको उदगम थलो लुम्बिनी युनेस्कोको सम्पदा सूचीमा छ,’ परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा यहाँको संसदलाई सम्बोधन गर्दै नेपाल विश्वमा शान्तिका दूत गौतम बुद्धको देश भएको बताउनु भएको थियो।’
भारतीय विदेशमन्त्रीको अभिव्यक्तिलाई लिएर नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि विरोध जनाएका छन् ।
