Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मदिरा सेवन र बिक्री वितरणमा रोक


    शनिबार, साउन २४ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बैतडी । बैतडीको पुर्चौंडी नगरपालिका र डिलाशैनी गाउँपालिकाका विभिन्न स्थानमा मदिरा सेवन तथा बिक्री वितरणमा रोक लगाइएको छ । पुर्चौंडीको वडा नं ३ ढङ्ंगाबिसौनामा मदिरा बेचबिखनमा पूर्णरुपमा रोक लगाउने निर्णय भएको छ । मदिरा नियन्त्रण समितिको बैठकले गाउँमा मदिराका कारण विभिन्न खालका समस्या सिर्जना भएकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाएको हो । समितिकोे निर्णय विपरीत कसैले मदिरा बिक्री गरेको पाइएमा १० हजार जरिवाना गरिने निर्णय भएको स्थानीय अर्जुन लुहारले जानकारी दिनुभयो । यस्तै मदिरा सेवन गर्ने र ओसारपोसार गर्नेलाई रु पाँच हजार जरिवाना गर्ने निर्णय भएको छ ।

    मदिराका कारण समाजमा विभिन्न खालका हिंसाका घटना भइरहेकाले मदिरा बेचबिखन र सेवनमा रोक लगाइएको मदिरा नियन्त्रण समितिका राजेन्द्र धामीले जानकारी दिनुभयो । यसका साथै जिल्लाको डिलाशैनी गाउँपालिका–७ को मनेकुडा टोलमा पनि मदिरा र जुवातासमा रोक लगाइएको छ । बेतालेश्वर युवा क्लबमा आबद्ध युवाले गाउँमा जुवातास र रक्सी प्रतिबन्ध गरेको स्थानीय सागर ऐरले जानकारी दिनुभयो । वडासदस्य लक्ष्मणबहादुर ऐरको उपस्थितिमा बसेको बैठकले वडाभित्र मदिरा बिक्री वितरण गरेमा रु पाँच हजार ५५५ जरिवाना गर्ने निर्णय गरेको छ ।

    यस्तै मदिरा सेवन गरी होहल्ला गरेमा रु दुई हजार ६००, मदिरा ओसारपोसार गरेमा रु दुई हजार जरिवाना लिने निर्णय गरेको युवा क्लबका अध्यक्ष कम्मान ऐरले जानकारी दिनुभयो । यस्तै कसैले जुवातास खेलाएमा रु एक हजार ५०० र जुवातास खेलेमा रु एक हजार जरिवाना गर्ने निर्णयसमेत भएको जनाइएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार