काठमाडौं । चाडपर्व, जात्रा तथा उत्सवहरुलक्षित गर्दै जनस्वास्थ्यका मापदण्ड-२०७७ जारी गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदै गरेका प्रमुख चाडपर्व, जात्रा तथा उत्सवहरु लक्षित गर्दै यो मापदण्ड सार्वजनिक गरेको जनाएको छ । कोभिड –१९ को संक्रमणको जोखिम कमका लागि मापदण्ड ल्याइएको बताइएको छ ।
मापदण्डमा सबै किसिमका चाडपर्व ,जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट कम गर्ने उल्लेख छ । सम्भव भएसम्म एकाघरका परिवारका सदस्ययहरुमात्रै बसी चाडबाड तथा पर्वहरु मनाउन भनिएको छ ।
चाडपर्वको समयमा सकेसम्म घर बाहिरको भेटघाटमा नजाने र चाडपर्व ,जात्रा तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपमले साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने भनिएको छ ।
त्यसैगरी धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने समाग्रीहरु छुनुहुँदैन ।
कुनै पनि धार्मिक कार्यक्रम तथा भेला गर्दा भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षा सहित तालिम प्राप्त कर्मचारी वा स्वयंसेवहरुको व्यवस्था गर्ने र कार्यक्रम स्थलको सरसफाई र हरेक दिन कम्तीमा दुई पटक डिस्इन्फेक्ट गर्न उल्लेख गरिएको छ ।
साथै सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्ने परेमा प्याकेजमा स्वस्थ्य व्यक्तिले पञ्जा लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र प्रसाद वा अन्य फलफूलहरु निश्चित व्यक्तिहले घरमै गएर बाँड्न मिल्ने व्यवस्था मिलाउने मापदण्डले जनाएको छ ।