काठमाडौं । बुधबार पनि काठमाडौं उपत्यकामा ६२ जना कोरोना संक्रमित भेटिएका छन् । मंगलबार पनि काठमाडौंमा ६२ जना नै संक्रमित भेटिएका थिए ।
यी मध्ये काठमाडौंमा मात्र ५७ जनामा संक्रमण भेटिएको हो ।
यसरी भेटिएकामध्ये राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा काठमाडौंका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौंका १४ र ललितपुरका एकजनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै त्रिवि शिक्षण अस्पतालमा काठमाडौंका एक जना, नेपाली प्रहरी अस्पतालमा काठमाडौंका ११ जना, स्टार अस्पतालमा काठमाडौंका एक जना र ललितपुरका दुईजना र बीआईडीएच ल्याबमा काठमाडौंका एक जना र पाटन अस्पतालमा काठमाडौंका दुई जना र ललितपुरका दुई जनामा संक्रमित भेटिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
बुधबार देशभर ३ सय ८१ जना काेराेना संक्रमित भेटिएका छन् । आज थपिएकासहित नेपालमा संक्रमितको संख्या २१ हजार ९ जना पुगेको छ।
नेपालमा पछिल्लाे २४ घण्टामा १ सय ३० जना उपचारपछि डिस्चार्ज भएका छन्। यसरी डिस्चार्ज हुनेकाे कुल संख्या १५ हजार १ सय ५६ जना पुगेकाे छ । सक्रिए संक्रमितको संख्या ६ हजार १ सय ७४ रहेको छ ।
यस्तै आजसम्म कुल ९ हजार ९ सय २५ जना क्वारेन्टिनमा रहेका छन् ।
बुधबार पर्साकी एक १८ वर्षीय युवती र सोही जिल्लाका एक ४६ वर्षीय पुरुषको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म संक्रमणबाट ६० जनाको मृत्यु भइसकेको छ।