Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वैदिक दर्शनशास्त्र निर्माणको सम्झनामा आज संस्कृत दिवस मनाइँदै


    सोमबार, साउन १९ २०७७
    820
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भारत वर्षको नैमिषारण्य क्षेत्रमा सत्य युगमा ८८ हजार ऋषिमुनिले अन्तक्रिया गरी वैदिक दर्शनका शास्त्र निर्माण गरेको सम्झनामा आज संस्कृत दिवस मनाइँदै छ ।

    श्रावण शुक्ल पूर्णिमाका दिन विधिपूर्वक श्रावणी स्नान, नव यज्ञोपवीत धारण, रक्षाबन्धन गरी ऋषिमुनिले वैदिक दर्शनका उपनिषद्, आरण्यक, ब्राह्मण लगायत ग्रन्थ संस्कृत भाषामा रचना गरेको सम्झनामा त्यसै बेलादेखि संस्कृत दिवस मनाउने प्रचलन शुरु भएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

    मानसरोवरबाट बग्दै आएको सरयु नदीको दक्षिणतिर नैमिषारण्य क्षेत्र पर्ने पनि उनले बताए । गोमती नदीको किनारमा वनजङ्गलको बीचमा पर्ने नैमिषारण्य क्षेत्र प्राकृतिक रुपमा पनि आकर्षक सिद्धभूमि हो । यहीँ बसेर ऋषिमुनिले छलफलका माध्यमबाट आ आफूले देख्नुभएका वेदका मन्त्र सङ्कलन गरेर शाखा उपशाखा निर्माण गरेको शास्त्रीय विश्वास छ ।

    त्यसै छलफलबाट ‘मनुस्मृति’ सत्य युगमा, ‘गौतमस्मृति’ त्रेता युगमा, ‘शङ्खलिखित स्मृति’ द्वापर युगमा र ‘पराशर स्मृति’ कलि युगमा सम्पूर्णरुपमा लागू हुने निर्णय पनि नैमिषारण्य क्षेत्रमा भएको ऋषिमुनिको भेलाले गरेको अध्यक्ष गौतमले बताए ।

    जुन स्मृति जुन युगका लागि तोकिएको छ सम्पूर्णरुपमा त्यही युगमा मात्र लागू हुन्छ । अन्य स्मृति भने छनोटमा परेका विषय मात्र लागू हुन्छन् । यही विषयमा अध्ययन गरिने विषयलाई नै धर्मशास्त्र भन्ने गरिएको हो । धर्मशास्त्र नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका विभिन्न आंगिक एवं सम्बन्धन प्राप्त विद्यापीठमा अध्यापन हुने गरेको छ ।

    संस्कृत दिवसका अवसरमा विगत वर्षमा संस्कृत विश्वविद्यालय र जयतु संस्कृतम् संस्थाले विभिन्न कार्यक्रम गर्ने गरेकामा यस वर्ष औपचारिक कार्यक्रम नगरी ऋषिमुनिको वैदिक दर्शन एवं संस्कृत क्षेत्रमा योगदानका विषयमा सम्झना गरिने जनाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार