Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपा एससँग पनि पार्टी एकताको तयारी हुँदैछः प्रचण्ड


    मंगलबार, साउन ३१ २०७९
    2.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग पनि पार्टी एकता संयोजन समिति बनाउने तयारी भइरहेको बताएका छन् । 

    मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीसँग चुनावी तालमेलका लागि समझदारी गरेलगत्तै उनले संचारकर्मीमाझ यस्तो प्रतिक्रिया दिएका हुन् । चुनावपछि पार्टी एकता नै हुनेगरी सो समिति छिट्टै बनाउने सहमती माधव नेपालसँग भएको अध्यक्ष दाहालको भनाइ थियो । उनले पार्टी एकता पछि हुने पार्टीको नाम नेकपा हुनेमा आफूहरुबीच सहमति भएको र त्यसमा समाजवादी वा यस्तै केही थपिने पनि बताए । 

    अध्यक्ष दाहालले बाबुराम भट्टराईसँग पनि चुनाव पछाडि एउटै केन्द्र बनाएर जाने विषयमा सहमति गरिएको बताए । बामपन्थी आन्दोलन र कम्युनिष्ट आन्दोलनमा आफू र बाबुराम भट्टराई एकै ठाउ उभिने कुराको ठूलो अर्थ र महत्व रहेको भन्दै उनले आफूहरुबीचको सो सहमतिलाई कसैले रोकेर रोक्न नसक्ने दावी गरे  । 

    अध्यक्ष दाहालले भने–‘अहिले बामपन्थी आन्दोलनमा र कम्युनिष्ट आन्दोलनमा पनि बाबुरामजी र प्रचण्डसँगै उभिने कुराको ठूलो अर्थ र महत्व छ । हामी उभियौं अव । अव कसैले रोकेर रोकिंदैन । त्यो ठूलो कुरा हो भनेर म भन्न चाहन्छु । यद्यपि आजै पार्टी एकता भएको होइन । चुनाव पछाडि हामी एउटै केन्द्र बनाउने भन्ने कुरा समझदारीमा गएका छौं । अहिले चुनाव चिन्ह, घोषणा पत्र, उम्मेदवार सबै साझा हुने भएपछि हामी एक ठाउँमा उभियौं । यसको नेपालको राजनीतिमा, नेपालको यो परिवर्तनलाई संस्थागत गर्ने र विकास गर्ने कुरामा, देशलाई समृद्धिको दिशातिर लैजाने कुरामा पनि निकै ठूलो महत्व छ भन्न चाहन्छु म । र, अर्काे कुरा यतिमात्रै हाम्रो लक्ष्य होइन । हामी अरुपनि बामपन्थीहरुसँग जस्तो माधव नेपालजीहरुसित हामी पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । नाम नेपाल कम्युनिष्ट पार्टी नै रहन्छ । चुनाव अघि त केही पनि हुँदैन । चुनावपछि नाममा चाँही नेकपा समाजवादी वा यस्तै केही हुन सक्छ । नेकपा राख्ने भन्नेमा भने सहमति भइसक्यो ।’

    अध्यक्ष दाहालले बाबुराम भट्टराईहरु पनि सत्तारुढ गठबन्धनमै रहेकाले त्यसमा आवद्ध दलहरुसँगको सहमतीमै उनीहरुको पनि सिट संख्या निर्धारण हुने विश्वास समेत व्यक्त गरे ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार