काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ८ देखि े स्कुलका सवारी साधनलाई कारबाही तथा सचेत अभियान सुरु गरेको छ । ट्राफिकको यो अभियान अन्तर्गत आइतबार १४ वटा स्कुल बस चेकजाँच गर्दा ६ जना चालकले मादक पदार्थ सेवन गरी सवारी चलाएको भेटेको छ ।
उपत्यका ट्राफिक प्रहरीले स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आइतबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा १४ वटा स्कुल बसलाई विभिन्न कसुरमा नियमानुसार कारबाही गरेको जनाएको छ ।
चेकजाँचका क्रममा विभिन्न स्कुलका ६ वटा बसका चालकहरुले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको कार्यालयले जनाएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले आगामी दिनहरूमा समेत निर्देशिका विपरीत संचालन हुने स्कुलका सवारी साधनहरूलाई कानून बमोजिम कारवाही गर्ने कार्यलाई निरन्तरता दिने बताएको छ ।
यसअघि पनि उपत्यका ट्राफिक प्रहरीले मापसे गरी सवारी चलाउने स्कुल बसका चालकलाई कारबाही गरेको थियो ।