Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • आदिवासी दिवसमा प्रधानमन्त्री देउवाले भने–जनजातिको उत्थान नभई देश समृद्ध हुँदैन


    सोमबार, साउन २३ २०७९
    935
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री एवम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण काम गर्दै आएको बताएका छन् । 
    २८ औं विश्व आदिवासी दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानमा उल्लेख भए अनुसार उनीहरुको हक, अधिकार र सुविधा दिलाउने कार्यमा पनि सरकार सदैव क्रियाशील रहेको बताए । आदिवासी, जनजातिहरुको पहिचान गर्ने र उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्नका लागि आफू नेतृत्वको विगतमा बनेको सरकारले नै आदिवासी, जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान स्थापना गरेको उनले स्मरण गराएका छन् ।
     त्यस अवसरमा प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुलाई राज्यको कुनै पनि अवसरबाट बञ्चित हुन नदिन सम्बन्धित सबै पक्षले मिलेर काम गर्न आवश्यक रहेको पनि बताए । 
    प्रधानमन्त्री देउवाले भने–‘वर्तमान सरकार संविधानमा उल्लेख गरिएका आदिवासी, जनजातिका हक, अधिकार र सुविधाका विषयमा उत्साहका साथ क्रियाशील रहँदै आएको छ । नेपालको संविधानले आदिवासी, जनजाति समुदायको विकास र समृद्धिको लागि छुट्टै आयोगको व्यवस्था गरेको छ । 
    सरकारले आदिवासी, जनजातिको हितका लागि धेरै महत्वपूर्ण कार्यहरु गर्दै आएको छ । आदिवासी÷जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना गरी आदिवासी, जनजातिहरुको पहिचान गर्ने, उनीहरुको भाषा, कला र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने काम मेरो नेतृत्व रहेको यस अघिको सरकारले नै गरेको स्मरण गराउन चाहन्छु । आज आदिवासी, जनजातिको पहिचानलाई उनीहरुलाई राज्यको मूलधारमा ल्याई कुनै पनि किसिमको अवसरबाट बञ्चित हुन नदिन हामी सबैले मिलेर कार्य गर्न आवश्यक छ । 
    राज्यका हरेक तह र तप्कामा समावेशीकरणको नीतिलाई प्रभावकारी रुपमा आत्मसात गर्दै राष्ट्रको विकास र समृद्धिका लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ । नेपालको सबैभन्दा ठूलो समुदाय आदिवासी, जनजातिको सर्वाङ्गीण विकास गरेर मात्रै नेपालको समृद्धिको सपना यथार्थमा परिणत हुने भएकाले यस कुरालाई आत्मसात गरी काम गर्न म सबैलाई हार्दिक अनुरोध गर्दछु ।’
     
    प्रधानमन्त्री देउवाले आदिवासी, जनजातिहरुको उत्थान नभई मुलुकलाई समृद्ध बनाउने सपना यथार्थमा परिणत नहुने कुरालाई आत्मासात गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सबै आदिवासी, जनजातिहरुको उत्थान गरेर मात्रै मुलुकको समुन्नति हुने भएकाले काँग्रेसले त्यस विषयमा गम्भिर भएर काम गरिरहेको दावी गरेका छन् । उनले एमालेले अघि सारेको समृद्ध मुलुक बनाउने अभियानमा आदिवासी, जनजातिहरु अटाउन नसक्ने जिकीर समेत गरेका छन् । काँग्रेसले मात्रै उनीहरुको हक, अधिकार र सुविधाका लागि काम गरिरहेको महामन्त्री थापाको भनाइ थियो ।
     महामन्त्री थापाले आफनो पार्टीले जनजातिहरुको पहिचान मेटिन नदिन संविधान निर्माणको बेलामा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार