काठमाडौं । १५ किलो ‘सुन बरामद’ प्रकरणले नयाँ मोड लिएको छ । घटनास्थल फेरेकोदेखि गाडी नियन्त्रणमा लिन नसकेको बिषयमा प्रहरीको लापरबाही देखिइसकेको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गले कमलादीमोडमा मंगलबार गरेको चेकिङका क्रममा १५ किलो सुन बरामद भएको तर पछि परीक्षणका क्रममा १४ किलो चाँदी भएको पुष्टि भएको थियो भने आधा किलो मात्र सुन भएको पाइएको थियो ।
यो बिषय एकपछि अर्को गरी रहस्यमय बनेको र प्रहरीको लापरबाही देखिएपछि बुधबार महानगरीय प्रहरी कार्यालयले अपराध महाशाखाका प्रमुख दीपक थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको थियो । तर बिहीबार छानबिन समितिका संयोजक फेरिएका छन् । थापाको ठाउँमा महानगरीय प्रहरी कार्यालयका एसएसपी सुशील यादवलाई छानबिन समितिको संयोजक बनाइएको छ ।
सुन प्रकरणमा काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी श्याम ज्ञवालीसम्म मुछिने भएपछि छानबिन समितिका संयोजक उनीभन्दा सिनियर एसएसपी यादवलाई बनाइएको छ । थापा र ज्ञवाली एकै समूहका भएकाले छानबिनमा असहजता हुने भएपछि यादवलाई बनाइएको छ । एसएसपी ज्ञवालीले आफूभन्दा जुनियर एसएसपीलाई छानबिन समितिको संयोजक बनाएको भन्दै नेकपाका शीर्षनेतासमक्ष गुनासो गरेपछि बिहीबार संयोजक फेरिएका छन् ।