काठमाडौं । खानेपानी मन्त्री उमाकान्त चौधरीको ब्रम्हलुटमा उनका निजी सचिव शशीकुमार लम्सालले मुख्यरुपमा साथ दिंदैआएका छन् । उपसचिव लम्साल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनजस्तो आकर्षक कार्यालय छाडेर खानेमन्त्री चौधरीको निजी सचिव हुन आएका हुन् ।
अध्यागमन छिट्टै कमाउने उद्देश्यले सरुवा भएका उनी त्यहाँभन्दा बढी कमाइ हुने देखेर खानेपानी मन्त्री चौधरीको निजी सचिव हुन आएका हुन् । उनको चाहना र मन्त्रीको अनुरोधमा उनी मन्त्रालयमा आएका हुन् । खानेपानी मन्त्रालयमा आएपछि सचिवालयमा आफ्नै अनुकूलका अधिकृत, नासु जस्ता कर्मचारी काजमा ल्याएर राखेका छन् । उनीहरुलाई लम्सालले आफू अनुकूल प्रयोग गर्ने गरेको आरोप छ ।
यसअघि मन्त्रालयमा निजामती कर्मचारीबाट एक निजी सचिव रहने र एकाध राजपत्र अनंकित कर्मचारी रहने प्रचलन रहँदैआएको थियो । तर लम्सालले खानेपानी मन्त्रीको सचिवालयमा आधा दर्जन निजामती कर्मचारीको लाइन लगाएर संचालन गर्दैआएका छन् । निजी सचिवले निजामती थुपारेजस्तै मन्त्री चौधरीले भने स्वकीय सचिवालयको ताँती भर्ति गरेका कारण उनको सचिवालय अस्तब्यस्त रुपमा संचालन हुँदैआएको छ ।
उपसचिव लम्सालले आकर्षक कार्यालयमा सरुवा हुन खोज्ने कर्मचारीहरुलाई मन्त्री चौधरीसँग भेट गराएर रकमको मोलतोल गराइदिने गरेको आरोप छ । लम्सालले आफू कर्मचारी भए पनि राजनीतिक कार्यकर्ताजस्तो ब्यवहार देखाउने गरेको गुनासो कर्मचारीले गर्दैआएका छन् । उनी दिनहुँजसो कार्यकक्ष छाडेर कर्मचारीहरुसँग डिल गर्नका लागि मन्त्रालय बाहिरका क्याफे र होटलहरुमा मिटिङ छ भन्दै बहाना बनाउने गरेका छन् । हरेक नियुक्ति र सरुवामा लम्सालले रकमको डिल गर्दैआएको स्रोत बताउँछ । खानेपानी विभागका महानिर्देशक सूर्यराज कँडेल, आयोजना कार्यान्वयन इकाई(पीआइडी)का निर्देशक राजेन्द्र सापकोटाको सरुवा र खानेपानी संस्थानका इश्वरप्रसादको नियुक्तिमा लम्सालले नै रकमको ठूलै डिल गरी मन्त्रीलाई सहमत गराएको चर्चा छ ।
कर्मचारी भएर कर्मचारीलाई नै सताउने खानेपानी मन्त्री चौधरीका निजी सचिव लम्सालको खानेपानी मन्त्रालयका हरेक सचिवको सरुवामा उनको संलग्नता रहने गरेको छ । उनकै डिजाइनमा ८ महिनामा ३ सचिव परिवर्तन भएका छन् । गतहप्तामात्रै प्राविधिक सेवाका उच्च कर्मचारी सहभागी हुनुपर्ने अमेरिकाको एक कार्यक्रममा मन्त्री चौधरीले निजी सचिव लम्साललाई पठाएका छन् । लम्साल खानेपानी विभागका महानिर्देशक सूर्यराज कँडेलसँगै उक्त कार्यक्रममा सहभागी भएर हालै फर्किएका छन् । उनी खानेपानी मन्त्रालयका कर्मचारी होइनन्, काजमा आएका हुन् । मन्त्री रहुन्जेल रहने निजी सचिवलाई उक्त महत्वपूर्ण कार्यक्रममा पठाएर नेपालकै प्रतिष्ठामा आघात पार्ने काम चौधरीले गरेको उनकै सचिवालयका एक कर्मचारीले बताए ।
मन्त्री चौधरीका निजी सचिव लम्सालको हत्कण्डा यतिसम्म छ कि उनलाई खुसी पार्न नसके कर्मचारीका दुःखका दिन सुरु हुने र अनावश्यक झमेलामा पर्ने गरेका छन् । उनको हालीमुहाली यतिसम्म छ कि काठमाडौं उपत्यका खानेपानी ब्यवस्थापन बोर्डमा लामो समयदेखि कार्यरत लेखा प्रमुख रामचन्द्र ढकाललाई उनले सुटुक्क काजमा मन्त्रालय सरुवा गराएको चर्चा छ । तर यो निर्णय कार्यान्वयनमा भने आइसकेको छैन । ढकालको सरुवाबारे मन्त्रालयमा समेत धेरैलाई जानकारी नै दिइएको छैन । ढकालको सरुवा गुपचुप राखेर लम्सालले मन्त्री चौधरीको तर्फबाट उनीसँग मोलतोल गरिरहेको स्रोतको दाबी छ । मोलतोल मिलेमा उनी थमौती हुने संभावना प्रबल छ ।