काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या बढेको बढ्यै छ । पहिलो दिन चार जना देखिएको संक्रमण दोस्रो दिन २१ जनामा देखिएको थियो । बुधबार यो संख्या ३५ पुगिसकेको छ ।
संक्रमितसँग सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण जारी रहेकाले यो संख्या अझै बढ्ने अनुमान गरिएको छ ।
प्राय: संक्रमित सवारी शाखाका छन् । संक्रमितमा असई एक, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी दुई जना छन् । पछिल्लो तीन दिनमा प्रहरी मुख्यालयमा कार्यरत ३५ प्रहरीमा कोरोना संक्रमण देखिएपछि मुख्यालयकै प्रहरी त्रसित बनेका छन् ।
प्रहरी प्रधान कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको परीक्षण गरिरहेको छ । यस्तैगरी अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको छ ।
संक्रमितहरुको सम्पर्कमा आएका सबैलाई क्वारेन्टिमा राखिएको छ ।