कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ६ जना बेपत्ता भएका छन्। बुधबार बिहानै गएको पहिरोमा स्थानीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६ जना बेपत्ता भएका हुन्।
बेपत्ता हुनेमा ६२ वर्षीय गंगे बुढा, उनकी श्रीमती ६१ वर्षीया नैनी बुढा, २४ वर्षीया बुहारी कुश्मा बुढा, १० वर्षीया नातिनी चन्द्रिका बुढा, ७ वर्षीय नाति राम बुढा र १८ महिने नाति चरित्र बुढा रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बास्तोलाले जानकारी दिए।
पहिरोमा परी गंगे बुढाकी छोरी विमला बुढा घाइते भएकी छिन्। उनलाई उपचारका लागि स्थानीय कुमाल बजारमा लगिएको बताइएको छ। पुरिएको घरका ११ जनाको परिवारमध्ये ४ जना सकुशल रहेको उनले बताए।