काठमाडौं । औषधि ब्यवस्था विभागका महानिर्देशक भरत भट्टराई र निरीक्षण शाखाका सन्तोष केसीको मिलेमतोमा बिदेशी औषधि उद्योगहरुको निरीक्षणसम्बन्धी सूची अपारदर्शी रुपमा तयार गरिएको आशंका ब्यवसायीहरुले गरेका छन् । बषौदेखि निरीक्षणको पर्खाईमा रहेका गुणस्तरीय औषधि उत्पादक कम्पनीहरुलाई पन्छाउँदै कसले कति घुस कबोल गर्छ, त्यस आधारमा नेपालमा बिक्रीबितरणको अनुमति दिने चलखेल भट्टराई– केसी गठबन्धनले गरेको छ ।
जनस्वास्थ्यजस्तो संवेदनशील बिषयमा गम्भीर भई गुणस्तरीय औषधिलाई मात्र नेपालमा बिक्रीबितरण गर्ने प्रयोजनका लागि निरीक्षण गर्ने प्रक्रिया हो । तर मोटो रकम दिने कम्पनीहरुलाई छनोट मापदण्डको आधार बनाउँदा थुप्रै अन्तर्राट्रिय औषधि कम्पनीहरु छुटेको बताइन्छ । गोप्यरुपमा तयार भएको विदेशी औषधि कम्प्पनीहरुको छनोट गरिएको विवरण सार्वजनिक गर्न ती उद्योगका प्रतिनिधिहरुले माग गरेका छन् । करिब ४० वटा उद्योगहरुले निरीक्षणका लागि निवेदन दिएका थिए । भट्टराई–केसीले मनोमानी तरिकाले आफूलाई लाभ हुनेलाई मात्र छनोट गरेको बताइन्छ ।
प्रतिउद्योग बराबर कम्तीमा २० लाख दररेट घुस दिने सर्तमा मात्र निरीक्षणका लागि उद्योगहरुको सूची तयार गरिएको छ । करिब २० भन्दा माथि उद्योगहरुलाई मात्र निरीक्षणको सूचीमा राखिएका कारण ती उद्योगले मात्र उनीहरुको चाहना पूरा गरेको प्रष्ट छ । निरीक्षण शाखामा कमैमात्र कार्यकक्षमा रहने केसी र महानिर्देशकको कुर्सीमा आक्कलझुक्कल मात्र देखिने भट्टराईले कार्यालय बाहिरै बसेर विदेशी औषधि कम्पनीका एजेन्टहरुसँग मोलमोलाई गरेको विभागका एक कर्मचारीले बताए । स्वदेशी कम्पनीको निरीक्षण गर्दा समेत मोटो रकम असुल्न पछि नपर्ने यो समूहले विदेशी कम्पनीसँग मोटो रकम लिनका लागि भट्टराईको निवास सातदोबाटो आसपास रहेको पार्टी प्यालेसलाई मुख्य मोलमोलाई अड्डा बनाउने गरिएको छ ।
स्वास्थ्य मन्त्री बिरोध खतिवडा हट्ने हल्लाको तरल अवस्थाको फाइदा उठाउँदै यो समूहले असुली गरेको रकम यस काममा मात्र सीमित छैन, विभागबाट हुने अन्य दर्जनौं काममा करोडौको डिल हुने गरेको स्रोत बताउँछ ।
भारतमा रहेका औषधि कम्पनीहरुको निरीक्षण गर्ने त कहिले के बहानामा उनी भारत जाने गरेका छन् । उनीसँगै हाल निरीक्षण शाखामा रहेका सन्तोष केसी पनि हरेक भ्रमणमा सहभागी हुने गरेका छन् । केसी त भारतीय औषधि कम्पनीको निरीक्षणका लागि स्वीकृत गराएको अवधि भन्दा बढी समय कम्पनीकै आतिथ्यमा बस्ने खाने गरेको आरोप छ ।
कम्पनीकै निरीक्षणमा जाने विभागका कर्मचारीहरुले कम्पनीकै खर्चपर्चमा रमाउने मात्र होइन, नेपाल आउँदा परिवार र आफन्तका नाममा ल्याइने उपहार पनि कम्पनीलाई नै खरिद गर्न लाउने हुँदा त्यो कम्पनीको औषधि जतिसुकै गुणस्तरहीन र कम्पनीको ब्यवस्थापन कमजोर भए पनि त्यसले नेपालमा बिक्रीबितरणको योग्य प्रतिवेदन पाउने गरेको छ । भट्टराई र केसी संलग्न निरीक्षण टोलीले त्यही किसिमको प्रतिवेदन बनाउँदैआएको छ । अहिले विदेशी ४० वटा औषधि कम्पनीहरुले निरीक्षणका लागि विभागमा आवेदन दिएका छन् । तर भट्टराई र केसीले ती कम्पनीहरुसँग प्रतिकम्पनी २० लाख रुपैयाँ दिनेलाई मात्रै निरीक्षणमा समेट्ने भन्दै मोलमोलाई गरिरहेका छन् ।