सुर्खेत । जनचेतनाको अभावमा बिषालु च्याउको तरकारी खाने क्रम रोकिन सकेको छैन । विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका ४ जनाको मृत्यु भएको छ । जाजरकोटको कुशे गाउँपालिका–१ स्याँक्रीका एकै परिवारका ३ जनाको मंगलबार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्यु भएको छ । एक जनाको च्याउको तरकारी खाएको केहीबेरमै सोमबारै गाउँमा मृत्यु भएको थियो । उनीहरुले साउन ९ मा जंगली च्याउ टिपेर ल्याई घरमा पकाएर खाएका थिए । च्याउको तरकारी खानासाथ टेकबहादुर चलाउनेसहित परिवारका ८ जना बिरामी भएका थिए ।
बिरामी भएकामध्ये टेकबहादुरकी १६ वर्षीया छोरी औसरा, १३ वर्षीया छोरी धनसरा र ११ वर्षीया नातिनी निरुताको उपचारका क्रममा मृत्यु भएको प्रदेश अस्पतालले जनाएको छ । टेकबहादुरकी ३ वर्षीया छोरी अञ्जनाको सोमबार गाउँमै मृत्यु भएको थियो ।
बिषालु च्याउको तरकारी खाएर गम्भीर बिरामी भएका सातै जनालाई नेपाली सेनाको हेलिकोप्टर चार्टर गरी उपचारका लागि सोमबार सुर्खेत पुर्याएको थियो ।
बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र तीनजनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।