काठमाडौं । पदमुक्त भएको तीन सातापछि रमेशकुमार सिलवाल नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य-सचिवमा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सिलवाललाई राखेप सदस्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
राखेपमा पहिलोपटक खुला रुपबाट सदस्य-सचिव नियुक्त भएको हो । तर यो छनोट प्रक्रिया राजीनितकै प्रभावमा रहेको देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा नै सिलवाल दोस्रो पटक सदस्य-सचिव बन्न सके ।
नयाँ ऐन अनुसार युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वमा रहेको सिफरिस समितिले पठाएको एक महिलासहित तीन जनाबाट सिलवाल सदस्य-सचिव नियुक्त भएका हुन् । समितिले राष्ट्रिय महिला भलिबल टोलीकी पूर्व कप्तान अन्जु श्रेष्ठ र नेपाल भलिबल संघका पूर्व उपाध्यक्ष नेकपाका नेता लिलबहादुर थापाको नाम समेत सिफारिस गरेको थियो ।
नयाँ ऐन अनुसार विगतमा सदस्य सचिवमा रहेको अधिकार ७ जनाको कार्यकारी समितिले प्रयोग गर्नेछ । त्यस्तै ३७ जनाको राखेप बोर्ड रहनेछ ।
राष्ट्रिय खेलकुद विकास ऐन–२०७७ प्रमाणीकरण भएसँगै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव रमेश सिलवालले राजीनामा दिनु परेको थियो ।
पुन: नियुक्त भएमा सिलवालको कार्यकाल अब फेरि चार वर्षको हुनेछ । उनी यसअघि एक वर्ष सो पदमा रहिसकेका छन् ।
यस्तैगरी शिव कोइराला राखेपका उपाध्यक्ष नियुक्त भएका छन् । यसअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका उनलाई पनि मन्त्रिपरिषद्को बैठकले नै नियुक्त गरेको हो ।