काठमाडौं । लिम्पियाधुरा, कालापानी लगायतको क्षेत्रमा नेपालीलाई नपठाउन भन्दै भारतले पत्र लेखेको छ । पछिल्लो समय त्यस क्षेत्रमा नेपालीको आवतजावत बढेको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको हो ।
भारतस्थित धार्चुलाका उप-जिल्ला अधिकारी अनिलकुमार शुक्लाले ती क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउन आग्रह गरेको थाहा भएको छ ।
भारतले पठाएको पत्रमा नेपालीहरु समूहको रुपमा भारतको गुन्जी, कालापानी, लिम्पियुरामा अवैधरूपले लुकिछिपी सीमा पार गरी आउन चाहेको उल्लेख छ। यस्तो काम गरेर मिडियाको ध्यानाकर्षण गरी दुवै देशको प्रशासनलाई अप्ठ्यारो हुने भएकाले त्यस्ता सूचना भएमा जानकारी दिन आग्रह गरिएको छ ।
दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले पत्र आएको पुष्टि गरे । टिङ्कर, छाङरूङ क्षेत्रमा सशस्त्र तथा नेपाली सेना पुगेदेखि चहलपहल बढेका कारण भारतले सशंकित भइ पत्र पठाएको हुनसक्ने बताएका छन्।