काठमाडौं । भारतमा एकैदिन झण्डै ५० हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भारतमा ४९ हजार ९ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । योसहित भारतमा कुल संक्रमितको संख्या १४ लाख नाघेकाे छ ।
यस्तै भारतमा काेराेनाका कारण एकैदिन ७ सय ८ जनाको ज्यान गएकाे छ । याेसँगै भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ३२ हजार ७ सय ७१ पुगेको छ ।
समाचार एजेन्सीकाअनुसार विश्वभर पछिल्लो २४ घण्टामा संक्रमण हुनेको सङ्ख्या २ लाख १४ हजारभन्दा बढी रहेकाे छ । यसैबीच स्पेनले कोरोना भाइरसका संक्रमणहरु फाट्टफुट्ट देखिए पनि अवस्था सामान्य बनिसकेको जनाएको छ ।
स्पेनमा कोरोनाको दोस्रो लहर चलिरहेको आशङ्का गरिएका बेला स्पेनले अवस्था सामान्य बनिसकेको र पर्यटकका लागि सुरक्षित भइसकेको दावी गरेको हो ।