काठमाडौं । विभिन्न अभियोगमा अदालतबाट सजाय तोकिएपनि भाग्दै आएका सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।सल्यानमा प्रहरीले ती दोषी ठहर भएका फरार प्रतिवादीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी हिरालाल भन्ने लालबहादुर शाहु, कर्तव्य ज्यान मुद्दाको शेरबहादुर बस्नेत, सवारी ज्यान मुद्दामा टेकबहादुर गिरी, लुटपिट मुद्दामा होमबहादुर बुढा, जारी मुद्दामा सुनिता बुढा, सम्वन्ध विच्छेद मुद्दामा रेखा बुढा र सार्वजनिक मुद्दाका फरार प्रतिवादी रामबहादुर बुढाथोकी पक्राउ परेका छन्।
जिल्ला प्रहरी प्रमुख डीएसपी ढकेन्द्र खतिवडाले फरार सूचीमा रहेका उल्लेखित विभिन्न व्यक्तिहरूलाई खोज तलास गर्दै जाने क्रममा घरमै लुकीछिपी बसेको अवस्थामा फेला पारिएको बताए।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी कारबाहीको जिल्ला अदालत सल्यानमा उपस्थित गराएर तोकेको कारबाही भुक्तानीको लागि कारागार चलान गरिएको डीएसपी खतिवडाले जानकारी दिए ।