Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो


    सोमबार, साउन १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • वीरगञ्ज  । अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ ।
    आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका उद्योगले भारतीय कामदार भित्र्याएका हुन् ।
    पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उद्योगहरुले भारतीय मजदुर अवैद्य रुपमा ल्याएर कोरोनाको सङ्क्रमण फैलाएको व्यापक जनगुनासो आएको स्पष्ट पार्नुभयो । यही गुनासोका आधारमा ती उद्योगहरुको अनुगमन सुरु गरिएको पनि बस्नेतले बताउनुभयो ।
    उद्योग सञ्चालन गर्न सरकारले मापदण्ड तोकेको छ । कामदारको पीसीआर परीक्षणलाई अनिवार्य गरिएको छ । कामदारलाई १४ दिन क्वारेन्टाइनमा राखेर पीसीआर परीक्षण गराउनुपर्ने र उद्योग परिसरभित्रै बस्ने व्यवस्था मिलाउनुपर्छ । तर यो मापदण्डलाई पर्सा–बारा औद्योगिक करिडोरका अधिकांश उद्योगले पालना नगरेको जनगुनासो छ ।
    वीरगञ्ज भिस्वाका धिरज पासवनले भारतीय कामदार सहजै भित्रिइरहेका र उद्योगले कुनै होशियारी वा सुरक्षा मापदण्ड नअपनाई ती कामदारलाई काममा लगाएकाले समुदायमै सङ्क्रमण फैलिएको आरोप लगाउनुभयो । भारतीय कामदारहरु टोलटोलमा देखिने गरेको स्थानीयले बताए ।
    वीरगञ्ज र पर्सा –बारा औद्योगिक करिडोरमा रहेका ट्रक÷बसको बडी बनाउने, टायर मर्मत गर्ने, सवारी साधनका मेसिनरी सामान बेच्ने र मर्मत गर्ने वर्कसपमा भारतीय कामदारहरु देखिने गरेका छन् ।
    वीरगञ्जको सुख्खा बन्दरगाहमा दैनिक दुई–तीन सय भारतीय कामदार आएर काम गरेर फर्किने गरेका छन् ।
    वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले भने उद्योगले त्यसरी अवैद्य रुपमा कामदार ल्याएर काममा लगाएको विषयमा अनभिज्ञता प्रकट गर्नुभयो । तर ‘अनुसन्धान गरेर पुष्टि भए त्यस्ता उद्योग र उद्योगीलाई कारबाही गर्न म आह्वान गर्दछु’– अध्यक्ष केडियाले भन्नुभयो ।
    पर्साको प्रहरी उपरिक्षक गंगा पन्तले पर्सामा १०७ किलोमिटर खुला सीमा रहेकाले प्रहरी उपस्थित नहुने क्षेत्रबाट भारतीय अवैद्यरुपमा भित्रिन सक्ने सम्भावना रहेको बताउनुभयो । भारतीयलाई अवैद्यरुपमा नेपाल भित्र्याउन सहयोग गरेको आरोपमा पाँच जनालाई पक्राउ गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । यो समाचार आजको गोरखापत्र दैनिकमा दीपकप्रसाद गौतमले लेखेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार