Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एसिड आक्रमणमा परेकी कार्कीका परिवारलाई उपचार खर्चको चिन्ता


    शनिबार, साउन १० २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौंं । एसिड आक्रमणको शिकार भएकी पवित्रा कार्कीको कीर्तिपुरस्थित मोडल अस्पतालमा उपचार भइरहेको छ । २२ बर्षीया कार्कीमाथि बिहीबार साँझ सीतापाइलामा एसिड प्रहार भएको थियो । अनुहारमा एसिड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । तर कार्कीको उपचारका लागि आर्थिक अभाव भएको उनका आफन्तहरुको भनाइ छ । पीडित कार्कीका दुई दिदी गंगा भट्टराई र सुनिता थापा  तथा भिनाजुहरु देउकर भट्टराई र गोपालबहादुर थापाले उपचारको ब्यवस्थापन गर्दैआएका छन् । कार्कीको उपचारमा धेरै नै खर्च लाग्ने भएकाले त्यसको जोहो कसरी गर्ने समस्या आफन्तलाई परेको छ । एसिड आक्रमणले उनको अनुहार क्षतविक्षत भएको छ । उपचार पनि महंगो भएकाले आफन्त चिन्तामा परेका छन् ।

    एसिड आक्रमणमा पर्नेको उपचार लामो समय र खर्च पनि उत्तिकै लाग्ने भएकाले अस्पतालमा निःशुल्क उपचारको ब्यवस्था गर्नेतर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट पहलकमदमी हुने अपेक्षा कार्कीका आफन्तले गरेका छन् । यद्यपि अहिलेसम्म पनि महिला मन्त्री पार्वत गुरुङ एसिड आक्रमणमा परेकी कार्कीलाई भेट्न गएका छैनन् ।

    एसिड प्रहारपछि सीसीटीभी फुटेज हेरी प्रहरीले दोषीलाई १ घन्टाभित्रै पक्राउ गर्न सफल भएको थियो । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मद छन् । उनीहरू डल्लुबाट पक्राउ परेका थिए । कार्की केही समयअघिसम्म मोहम्मद आलमको गार्मेन्ट फ्याक्ट्रीमा काम गर्थिन् । ओखलढुंगाको चम्पादेवी गाउँपालिका घर भएकी उनलाई आलमले एकतर्फी रुपमा मन पराएका थिए । एकतर्फी रुपमा मन पराएका आलमले कार्कीले उनलाई मन नपराएपछि उनले भारतीय नागरिक मुन्ना मोहम्मदलाई एसिड प्रहार गर्न लगाएका थिए । आलमको निर्देशनमा मुन्नाले कार्कीलाई एसिड प्रहार गरेका थिए ।

    कार्कीको आर्थिक अवस्था कमजोर भएकाले उनको तर्फबाट निःशुल्क मुद्दामा बहस गर्ने घोषणा गरेकी अधिवक्ता राधिका खतिवडाले शनिबार उनलाई अस्पतालमै गएर भेटेकी छन् । र, उनको उपचारमा पनि सक्दो सहयोग गर्न पहल गर्ने आश्वासन दिएकी छन् । कार्कीमाथि एसिड प्रहार गर्नेमाथि हदैसम्मको कारबाही गराउन आफूहरुले सक्दो प्रयास गर्ने अधिवक्ता खतिवडाले बताइन् । उनले भनिन्, कलिलो उमेरमा एसिड आक्रमण गरी कार्कीको जीवन बर्बाद गर्नेमाथि कारबाही गर्न थुप्रै कानुन ब्यवसायीहरु निःशुल्क बहस गर्न तयार हुनुहुन्छ ।

    एसिड आक्रमणमा परेकी पवित्रा कार्की । फोटोः आरके रोमस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार