Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • २२ बर्षपछि बाँसबारीमा पर्यावरण पार्क बन्दै


    शनिबार, साउन १० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ५ मिनेट पाठ
  • काठमाडौँ । आज भन्दा करीब २२ वर्ष अघि अर्थात २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार भए पनि अलपत्र अवस्थामा रहेको बाँसबारीको महापुर पाखामा अब इको पार्क निर्माण हुने भएको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले वडा–३ को बाँसबासीमा आज बाँसवारी इको पार्कको शिलान्यास गरेसँगै त्यहाँ पार्क निर्माण हुने भएको हो । पार्कको शिलान्यास गर्दै प्रमुख शाक्यले बजेट अभाव हुन नदिने भन्दै पार्क निर्माणको काम समयमै सम्पन्न गर्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिले परिक्षा दिइरहेको भन्दै परिक्षाको मूल्याङ्कन गर्ने जिम्मेवारी महानगरवासीको भएको पनि बताउनुभयो । ‘जनप्रतिनिधिले परिक्षा दिइरहेका छन् । तपाईंहरु (महानगरवासी) ले १ सयमा ८०, ९०, ६०, २०, ३० जति दिने हो दिनुहोस्, त्यो तपाईंहरुको जिम्मामा छ,’ उहाँले भन्नुभयो, ‘हामी सकेसम्म महानगरवासीका सपना पूरा गर्ने गरी लागेका छौँ ।’

    काठमाडौँ महानगरपालिकाको वडा–३, बुढालिनकण्ठ नगरपालिकाकाको वडा–७ र टोखा नगरपालिकाको वडा–४ को संगमा रहेको उक्त स्थानमा करीब २ करोड ५० लाखको लागतमा पार्क निर्माणको प्रक्रिया अघि बढाएको वडाध्यक्ष दिपक केसीले जानकारी दिनुभयो । पहिलो चरणमा उत्तर तर्फबाट सामाखुसी खोला सिमानाबाट दक्षिणतर्फ आधा सम्पन्न गर्ने लक्ष्य लिएको उहाँको भनाई छ । बाँकी दोश्रो चरणको काम सम्पन्न गर्न महानगरपालिकाले यो बर्षको बजेटमा एक करोड पचास लाख विनियोजन गरेको भन्दै समयमै काम सम्पन्न गर्ने गरी काम अघि बढाएको अध्यक्ष केसीले जानकारी दिनुभयो । दोस्रो चरणको योजनामा किरिया पुत्री भबन र पार्क निर्माण गरिने महानगरपालिकाको भनाई छ । ‘पहिलो चरणको काम २०७७ मंसिर मसान्त सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएका छौँ,’ केसीले भन्नुभयो, ‘दोस्रो चरणको काम पनि यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिएका छौँ ।’

    park 1.jpg

    पर्यावरण पार्क निर्माण हुने स्थान

    काठमाडौँ महानगरपालिका सहरी योजना आयोगले तयार पारेको डिजाइनमा वातावरण संरक्षण र पर्यावरणलाई विशेष ध्यान दिइएको छ । ‘डोल परेको र भिरालो जमिनमा पार्क निर्माण गर्ने कुरा आफैँमा चुनौतिपूर्ण छ,’ डिजाइन टिमकी इञ्जिनियर निलिमा थापा श्रेष्ठले भन्नुभयो, ‘पहिलो पटक म त्यहाँ पुग्ने वित्तिकै चराहरुको चिरविरचिर आवाज, वातावरण र पर्यावरणले मन आनन्दित भयो । त्यसैले हामीले डिजाइन पनि त्यसैलाई ध्यानमा राखेर तयार पारेका छौँ र पार्कको नाम नै इको पार्क राखेका हौँ ।’ पार्कलाई हरियाली मैत्री बनाउन त्यहाँका रुख बिरुवालाई यथावत राख्दै थप हरियाली बनाउने गरी डिजाइन तयार पारेको उहाँले जानकारी दिनुभयो । ‘हामीले क्रियापुत्री भवन र पार्क दुबै रहने गरी डिजाइन तयार पारेका छौँ ।

    जीवनमा सबै भन्दा ठूलो पीडा परेका बेला शान्त बस्नुपर्ने कियापुत्री भवन र पीडालाई स्वतन्त्र छाडेर उन्मुक्त हुने पार्कलाई एकै ठाउँ डिजाइन गर्ने कुरा थप चुनौतिपूर्ण छ,’ थापाले भन्नुभयो, ‘हामीले यसलाई विशेष ध्यान दिएर डिजाइन तयार पारेका छौँ । त्यसका लागि हामीले तीन ओटा प्रवेशद्वार राखेका छौँ । मुख्य प्रवेशद्वारमा सानो ठाउँ राखेका छौँ भने क्रियापुत्री भवनलाई केही उचाइमा राखेका छौँ । जसले गर्दा पार्क प्रवेश गर्नेहरु सुरुमै उन्मुक्त हुन पाउने छैनन् र क्रियापुत्री भवनमा पनि शान्त वातावरण रहने छ ।’

    चुनदेवी सहयोगी संस्थाका अध्यक्ष मुकुन्द प्रसाद आचार्यले २२ वर्षको अथक प्रयासपछि सपना पूरा हुने चरणमा रहेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘हामीले २०५५ सालमा नक्शा पास र गुरुयोजना तयार पारेका थियौँ,’ उहाँले खुशी हुँदै भन्नुभयो, ‘त्यो सपना पूरा हुन २२ वर्ष लाग्यो । यो पार्क निर्माणपछि यहाँका १ सय ११ परिवार र छिमेकी नगरपालिका सहित २० हजार मानिसले यहाँ पार्कको आनन्द लिनसक्ने छन् ।’ आचार्यले परापूर्व कालदेखि आफ्ना पुर्खाले यही ठाउँमा ढिकुरो उठाउँदै आएको स्मरण गराउनुभयो । ‘यहाँ पानीको मुहान छ । काउलो, उत्तिसका रुख र निगालो–बाँस घारीहरु पहिलादेखि छ,’ उहाँले भन्नुभयो, ‘यी सबैको संरक्षण गर्दै वातावरण र पर्यावरण जोगाउँदै पार्क निर्माण प्रक्रिया अघि बढाएका हौँ ।’ यो पार्कमा झरनाको आनन्द लिन सकिने छ भने योगा स्थल र पुस्तक पढ्न मिल्ने स्थान पनि रहने छ । पार्कको डिजाइनमा ढुंगेधारा र मन्दिर पनि रहने छ । बालबालिकाहरुलाई खेल्न मिल्ने उधान समेत यहाँ रहने छ ।

    कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानरपालिकाको विकासमा सबैको हातेमालो आवश्यक रहेको बताउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार