सप्तरी । उपचारका क्रममा मृत्यु भएका सप्तरीका कोरोना संक्रमित वृद्धको परिवारका सबैजनामा कारोना संक्रमण पुष्टि भएको छ ।
राजविराजका ७२ वर्षीय वृद्धको गत बिहीबार राति कोरोना संक्रमण पुष्टि भएको दुई घण्टामै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा मृत्यु भएको थियो ।
मृत्यु भएका वृद्धकी पत्नी, छोरा, बुहारी र नाति, नातिनामासमेत कोरोना पुष्टि भएको राजविराज नगरपालिका-६ का अध्यक्ष प्रेम यादवले जानकारी दिए । संक्रमण देखिएका सबैलाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ ।
मृतक वृद्धको परिवार दुई साताअघि भारतबाट फर्किका थिए । मृतकले आफ्नी पत्नीलाई उपचार गराउन गत फागुनमै परिवारसहित भारत गएका थिए ।
घर फर्केमा उनको स्वास्थ्य बिग्रिइ उपचारका लागि धरान लगिएको थियो । धरानमा पीसीआर टेस्ट गराउँदा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।