काठमाडौं । देशभर भारी बर्षा भएका कारण बाढीपहिरो र डुबानका कारण धेरै धनजनको क्षति भएको छ । नेपालमा ठूलो धनजनको क्षति गराइसकेको मनसुन फेरि सक्रिय भएका कारण १२३ घन्टादेखि लगातार बर्षा भइरहेको छ ।
अहिले बागमती, गण्डकी, प्रदेश–५ र कर्णाली प्रदेशलगायत देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले जानकारी दिएका छन् ।
हिजो साँझ ६ बजे शुरु भएको बर्षा केहीबेर रोकिए जस्तो भए पनि रातिदेखि वर्षा भइरहेको छ । पौडेलका अनुसार बर्षा हुने क्रम बिहानभर नै रहने देखिन्छ, दिउँसो केहीबेर थामिए पनि पुनः वर्षा हुने सम्भावना छ ।
दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म तथा प्रदेश २, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही र प्रदेश १ र ५ का थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । राति पनि यो क्रम जारी रहने जनाइएको छ ।
‘मनसुन सक्रिय हुँदै गएको छ,’ मौसमविद् पौडेलले भने, ‘यसअघि बिहान एक–दुई घण्टा घाम पनि लाग्ने गरेको थियो भने अब बिहानैदेखि वर्षा हुने हुन्छ, दिउँसो केहीबेर रोकिए पनि वर्षा भइरहन्छ, अझ कतिपय ठाउँमा रोकिँदै नरोकिने पनि हुन सक्छ ।’
जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायत अन्य सम्बन्धित निकायले आज साउन ४ गतेदेखि ८ गतेसम्म देशभर व्यापक वर्षा हुने सम्भावना रहेकाले आम नागरिकलाई उच्च सतर्कता अपनाउन अनुरोध गर्दै केही दिनदेखि नै सूचना जारी गरिरहेका छन् ।
‘अब दुई–तीन दिन लगातार वर्षा हुने सम्भावना छ, जसले बाढी, पहिरो, डुबानको जोखिम अझ बढ्छ,’ मौसमविद् पौडेलले भने, ‘यो क्रम एक हप्ता पनि जान सक्छ, हामी हरेक दिन यसबारे सूचना दिने नै छौं ।’
मौसविद्का अनुसार नेपालदेखि केही दक्षिण रहेको मनसुनको न्यून चापीय रेखा आज रातिदेखि उत्तरतर्फ सर्ने अर्थात् नेपालतर्फ नजिकिने भएकाले चार–पाँच दिन देशभर लगातार र अलि ठूलै वर्षा हुने भएको हो ।
झरी परेसँगै विभिन्न नदी तथा खोलामा बाढी आउने भएकाले थप सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ । नवलपरासीको अरुणखोला, गिरुवारी खोला र साना नदी तटीय क्षेत्रका बाढी आउन सक्ने भएकाले आसपासका बासिन्दालाई बिहान १० बजेसम्म सतर्क हुन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै ठाउँमा ठूलो पानी परेको र अझै पानी परिरहने भएकाले अरुणखोला, गिरुवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा बाढी आउन सक्ने भन्दै महाशाखाले सचेत गराएको हो ।