काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलको अतिरिक्त महानिरीक्षक(एआइजी)मा डीआइजी राजु अर्याललाई सिफारिस गरेको छ । आइतबार बसेको बढुवा समितिको बैठकले अर्याललाई एआइजीमा बढुवा सिफारिस गरेको हो । अर्यालको एआइजीमा बढुवा सिफारिससँगै सशस्त्र प्रहरीको भावी महानिरीक्षक टुंगो लागेको छ ।
एआइजी पुष्पमराम केसी आइजीपीमा बढुवापछि रिक्त रहेको पदमा अर्याल बढुवा भएका हुन् । सशस्त्र प्रहरी बलमा डीआइजीद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम पनि एआइजीको प्रतिस्पर्धामा थिए । अर्का डीआइजी बंशी दाहालले पनि एआइजी बढुवाको दाबी गरेका थिए ।
बरिष्ठताका आधारमा अर्यालको बढुवा गरेर सरकारले सशस्त्रमा भावी आइजीपीमा हुने अस्वस्थ प्रतिस्पर्धाको अन्त गरेको छ । अर्याल यही बैशाख १८ गते आइजीपी नियुक्त हुनेछन् ।