ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ ।
आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौं घर जोखिममा परेका छन् ।
शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरे पनि सफल हुन सकेको छैन । प्रहरी सहायक हवल्दार वेदनाथले निरन्तर ढुंगा झरिरहेकाले आगो निभाउन जान समस्या भएको बताए ।
उनले भने, ‘रूखका स्याउलाले आगो निभाइरहेका छौं । चारैतिर आगो र धुवाँको मुस्लो आइरहेकोले हामी अन्यौलमा छौं ।’
निरन्तर हावा चलिरहेकाले आगो नियन्त्रणमा समस्या रहेको उनले बताए ।
आगो फैलिँदा खैरेनी, प्युटार, धनडाँडा र फुर्केडाँडा गाउँमा २ सय ५० घरमा वितरण गरिएको खानेपानीको पाइप जलेर नष्ट भएको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष उत्तमबहादुर लामाका अनुसार खानेपानीको पाइपको क्षतिबारे यसै भन्न सकिने अवस्था छैन ।