Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महिना दिन नपुग्दै साउदीबाट रित्तो हात फर्काइए चार कामदार 


    शनिबार, चैत्र २६ २०७८
    595
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ। रोजगारीका सिलसिलामा साउदी अरब पुगेको महिना दिन नपुग्दै चार जना कामदार स्वदेश फर्काइएका छन् । ओमेगा मेनपावर कम्पनी, बसुन्धारा, काठमाडौंबाट बेकरी हेल्परका रुपमा साउदी अरबको इमाद बेकरी उद्योगमा पुगेका खोटाङ जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका चिरञ्जिवी राईसहित चार युवा महिना दिन नपुग्दै फर्काइएका हुन् ।

    महिना दिन नपुग्दै घर फर्काइएकामा एक जना उदपयुरका, एक जना, सिन्धुली, एक जना धरान र एक जना पश्चिमका युवा छन् । पैसा कमाउने सपना बोकेर ऋण काढेर साउदीअरब पुगे लगत्तै रित्तो हात फर्कनुपर्दा युवा निराश बनेका छन् । 

    ती युवाहरुले मेनपावरलाई जनही एक लाख २० हजारदेखि एक लाख ७० हजारसम्म बुझाएर साउदी अरब पुगेका थिए । राईले एक लाख ५० हजार बुझाएको बताएका छन् । सुरुमा बेकरी उद्योगभित्र हेल्परको काम लगाइएका कामदारलाई क्रमशः आउटडोर काममा लगाएर कामबाट निकालेको हो । कम्पनीले बिनाकारण टिकट काटेर घर फर्काएको राईले बताए । ‘बेकरी हेल्परका रुपमा गएका थियौं ।

    ‘त्यसपछि ढोका पुछ्ने, त्यसपछि शौचालय सफा गर्ने काममा लगाए । एक दिन रुम जा भन्यो,’ राईले भने, ‘भोलिपल्ट काममा जाँदा टिकट थमाएर घर जा भन्यो । के कारणले हामीलाई घर फर्कायो भन्ने थाहै भएन ।’ 

    मेनपावरसँग कुरा राख्दा रित्तो हात फर्काइएका युवालाई टिकट, श्रम गरेको र भिसाको पैसा कटाएर ९० हजार फिर्ता दिने वा फ्रिमा मलेसिया पठाउने भनेर फकाइरहेको बताइएको छ । रोजगारीका सिलसिलामा उनीहरु ११ फागुनमा साउदी अरब पुगेका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार