Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • काठमाडौँ महानगरबाट १ करोड ८० लाख मूल्य बराबरका १५ वटा शववाहन हस्तान्तरण


    बिहिबार, चैत्र २४ २०७८
    840
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  •  काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ ।

    काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज ती शववहानको साँचो हस्तान्तरण गरेका हुन् । साँचो हस्तान्तरणपछि सम्वोधन गर्दै प्रमुख शाक्यले यसअघि पनि सामुदायिक, सरकारी र निजी अस्पताललाई सहयोग गर्दै आएको स्मरण गराए । 

    ‘काठमाडौँ महानगरपालिका आफैँले शववहान सञ्चालन गर्नुपर्छ भन्नेहरु पनि छन् तर काठमाडौँ महानगरलाई नाम भन्दा काम चाहिएको छ,’ प्रमुख शाक्यले भने, ‘हामीले सहकार्यको हात बढाउँदै आज शववहान हस्तान्तरण गर्दै हाम्रो दायित्व पूरा गरेका छौँ । अब तपाईँहरुले महानगर र उपत्यकावासीको अपेक्षा गरे अनुसार यी शववहानको प्रयोग गर्नुहोला ।’ उनले कोभिडका बेला पनि महानगरपालिकाले विभिन्न अस्पतालहरुसँग सहकार्य गरेर भेन्टिलेटरलगायतका उपकरण सहयोग गरेको स्मरण गराए ।

     ‘कोभिड महामारी सबैको साझा समस्याका रुपमा देखा पर्यो,’ उनले भने, ‘त्यो साझा समस्यासँग लड्न काठमाडौँ महानगरपालिकाले आफ्नो ठाउँबाट सक्दो सहयोग गरेको स्मरण गराउन चाहन्छु । उनले सबैको साझा प्रयास भयो भने जनतामा आउने नैरश्यतालाई सकेसम्म निर्मूल नभए पनि धेरै हदसम्म कम गर्न र उत्साह थप्न सकिने बताए । उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पनि यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् ।

    काठमाडौँ महानगरपालिकाले आज एकै पटक क्षत्रपार्टी निशुल्क चिकित्सालय, नेपाल एपीएफ अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, मनमोहन मेमोरियल अस्पताल, गणेशमान सिंह मेमोरियल अस्पताल, सूर्य विनायक नगरपालिका, गोदावरी नगरपालिका, भक्तपुर क्यान्सर अस्पताल, भद्रपुर नगरपालिकालगायतलाई शववहान हस्तान्तरण गरेको हो । 

    महानगरपालिकाले दिएको जानकारी अनुसार ती प्रत्येक शववहानको मूल्य करिब १२ लाख ४ हजार परेको छ । सम्झौता अनुसार ती शववहानले  उपत्यकाभित्र निशुल्क सेवा प्रवाह गर्नुपर्ने छ ।  काठमाडौँ महानगरपालिकाले १५ शववाहनमध्ये  नेपाल एपीएफ र त्रिवि शिक्षण अस्पताललाई भने दुई–दुई वटा हस्तान्तरण गरेको हो । प्रमुख शाक्यले हस्तान्तरण गरेको शववहानको साँचो ग्रहण गर्दै एपीएफ अस्पतालका प्रमुख डाक्टर रुपक महर्जनले महानगरपालिकाले दिएका शववहानको दुरुपयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार