काठमाडौं । किसानहरुलाई ब्यवसायिक रुपमा तरकारी खेती गरी आत्मनिर्भर बनाउन तथा बजारीकरण गर्नका लागि तरकारी उत्पादक कृषक र ब्यापारीबीच व्यवसायिक बिकास सम्बन्धी आज धनुषाको शहीद नगर नगरपालिकाको हठ्ठीपुरमा एक कार्यक्रम गरेको छ ।
किसानले उत्पादन गरेको तरकारीको उचित मूल्य नपाएपछि खेतमै कुहिनुपर्ने तथा किसानलाई आर्थिक क्षति हुने गरेका कारण मूल्य श्रृंखला मार्फत् उचित बजारीकरण कसरी गर्ने भन्ने उद्देश्यले कृषि बिकास बैंक खजुरी शाखाले उक्त कार्यक्रम गरेको हो ।
किसानले उत्पादन गरेको तरकारी उचित मूल्य तथा बिक्री बितरण नहुदाँ मार्कामा परेको भन्दै बीटा कार्यक्रम मार्फत् सो समस्या समाधान हुने कृषि बिकास बैंक, मधेश प्रदेशका क्षेत्रिय निर्देशक तिलक प्रधानले बताए । उनले भने किसानले उत्पादन गरेको स्वच्छ र स्वस्थ तरकारी यस कार्यक्रम मार्फत् खेतदेखि बजारसम्म पुरयाउने कार्यमा कृषि बिकास बैंकले सहजीकरण गर्ने छ ।
तरकारी उत्पदन गर्ने किसानहरुको आयस्तर बढाई कसरी ब्यबसायीकरण गर्न सकिन्छ भन्दै उनीहरुको उत्पादन क्षमता बृद्धि गरी बजारको माग र उत्पादनको संतुलन समेत यसै कार्यक्राम मार्फत् गर्ने डिजिटल फाइनान्सियल अफिसर अम्बिकेशकुमार झाले बताए । झाका अनुसार बीटा कार्यक्रमसँगै किसानहरुलाई बिस्तारै डिजिटलाइज गर्ने र किसान कार्ड मार्फत् क्यासलेस बनाउने सरकारको नीति रहेको बताए ।
मधेश प्रदेशमा २० हजार घर परिबारलाई यस कार्यक्रम मार्फत् प्रत्यक्ष फाइदा हुने भन्दै धनुषामा कृषि बिकास बैंकको खजुरी, सबैला र मिल्स एरिया गरी तीन वटा शाखा मार्फत् ७ वर्षका लागि यो कार्यक्रम सञ्चालन हुने जानकारी गराए ।
नेपाल सरकार र अर्थ मन्त्रालयको संयुक्त अभ्यास तथा नेपाल सरकारको बजेटभित्र रहेको किसान कार्ड, किसान एप तथा क्यास प्वाईन्ट, मर्चेन्टबारे हाम्रो शाखाले किसानको घर दैलोमा पुगेर जानकारी गराई रहेको कृषि बिकास बैंक खजुरी शाखाका फिल्ड सहजकर्ता बिकास राजबंशीले बताए । तरकारी खेतीका लागि किसानहरुलाई यस बैंकले न्यूनतम ब्यजदरमा ऋण सुबिधा उपलब्ध गराउने उनले प्रतिबद्धता गरे ।