काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेश बहादुर सिंहविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार विशेष अदालतमा डिएसपी सिंहविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
उनले प्रहरी निरीक्षक पदमा दरखास्त दिन नागरिकता तथा शैक्षिक योग्यता प्रमाणपत्रको जन्म मिति सच्याएको आरोपमा मुद्दा दायर गरेको अख्तियारले जनाएको छ।
अख्तियारमा डिएसपी सिंहले जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नागरिकताको प्रमाणपत्रको जन्म मिति सच्याई जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्रतिलिपि लिएको भन्ने उजुरी परेको थियो।
सोही उजुरीमाथि अख्तियारले अनुसन्धान गर्दा आरोप पुष्टि भएपछि विशेष अदालतमा मुद्दा दायर गरेको हो।