Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भैरहवामा नेपाल वायुसेवाको जहाजले परीक्षण उडान भर्ने


    सोमबार, चैत्र २१ २०७८
    660
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भैरहवा । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने भएको छ । विमानस्थल निर्माणपछि उक्त विमानस्थल व्यावसायिक उडानको पर्खाइमा छ ।

    आगामी वैशाख १ नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भर्ने तयारी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनले भने, ‘हामी व्यावसायिक उडानको अन्तिम तयारीमा छौँ ।’ उक्त विमानस्थलमा व्यावसायिक उडान भर्न हालसम्म ११ कम्पनीले चासो देखाएका छन् । 

    बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडो व्यावसायिक उडान भर्न निर्देशन दिएका छन् । उक्त विमानस्थलमा क्यालिब्रेसन उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । फागुन पहिलो साता क्यालिब्रेसन उडान गरिएको थियो । 

    विमानस्थलबाट उडान भर्न सरकारले हवाइसेवा कम्पनीलाई औपचारिकरुपमा आग्रह गरिसकेको छ । व्यावसायिक उडानका लागि नेपाल वायुसेवा, जजिरा एयरवेज, श्रीलङ्कन एयर, सलाम एयर, थाई स्माइल, कतार एयर, फ्लाई दुबई, गल्फ एयर, गो एयर, एयर बीच र ओमन एयरले चासो देखाएका छन् ।

    व्यावसायिक उडानको योजना र तयारीमा कुनै व्यवधान नआए कुवेतको जजिरा एयरवेजले हप्ताको सातै दिन उडान भर्ने प्राधिकरणले जनाएको छ । उक्त विमान कम्पनीले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान भर्न अनुमति मागेको बताइएको छ । 
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार