काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजार, काठमाडौंका कार्यालय प्रमुख गोविन्द अधिकारीसहित ७ जनाबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेल, ना.सु.हरु उद्वव सापकोटा, नारायणप्रसाद पोखरेल, नवराज घिमिरे, गोपाल खड्का र खरिदार दिपक खनालले जग्गाको कित्ताकाट गर्न आदेश गराइदिएबापत सेवाग्राहीसँग ८ लाख ५० हजार घुस लिंदालिंदै अख्तियारले असार २ गते नियन्त्रणमा लिएको थियो । कार्यालय प्रमुख गोविन्द अधिकारी घुस लेनदेनका क्रममा नभए पनि उनको समेत संलग्नता खुलेपछि असार २४ मा अख्तियारले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । मंगलबार कार्यालय प्रमुख अधिकारीसहित ७ जनालाई नै जनही ८ लाख ५० हजार रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको छ ।
काठमाडौं टोखामा रहेको र बैना गरेका बिभिन्न कित्ता जग्गाहरुको प्लट मिलान गरी कित्ताकाट गर्न नापी कार्यालयलाई आदेश दिने प्रयोजनका लागि रु. ८ लाख ५० हजार घुस माग गरी नियमानुसार गर्नुपर्ने काममा सेवाग्राहीलाई दुःख हैरानी दिई घुस रकम दिन बाध्यपारी लिएको तथ्य सप्रमाण पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।