काठमाडौ । कोरोना भाइरस (कोभिड-१९) का समयमा भएका स्वास्थ्य सामग्री खरिद सम्बन्धी अनियमितता बारे अनुसन्धानकाे काम अघि बढेकाे छ । संघीय संसद प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले साेधपुछका लागि स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहकार, तत्कालीन स्वास्थ्य सचिव र स्वस्थ्य सेवा विभागका तत्कालीन महानिर्देशकलाई बाेलाएकाे हाे ।
समितिको बैठक मंगलबारकाे बैठकमा उनीहरुलाई बाेलाइएकाे हाे । यसरी बाेलाइएकामा स्वास्थ्य मन्त्रीकाविज्ञ सल्लाहकार डा. खेम कार्की, मन्त्रालयका तत्कालीन सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक महेन्द्रबहादुर श्रेष्ठ छन् ।
नेपालमा कोरोनाका संक्रमित भेटिन लागेको र लकडाउन सुरु भएपछि गत चैत दोस्रो साता स्वास्थ्य सेवा विभागले चीनबाट स्वास्थ्य सामग्री खरिद गर्नका लागि विवादित ओम्नी समूहलाई दिएको थियो ।
उक्त समूहलाई स्वास्थ्य सामग्री खरिद गर्ने जिम्मा कानुनी अधिकार नभएका मन्त्रीका विज्ञ सल्लाहकार कार्कीलाई दिइएको, कानुनी अधिकार भएका सचिव र महानिर्देशकले प्राप्त जिम्मेवारी पूरा नगरेको संसदीय समितिको प्रारम्भिक अध्ययनबाट देखिएको समिति स्रोतले बताएको छ ।
ओम्नी समूहले ठेक्का प्राप्त गरेअनुसार गुणस्तरीय सामग्री नल्याएको, मागभन्दा कम सामग्री ल्याएकोलगायतका आरोप लागेको थियो । स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक श्रेष्ठले उक्त समूहलाई कालो सूचीमा राख्ने बताए पनि पछि प्रक्रिया अघि बढाएका थिएनन् ।
ओम्नीले स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको सार्वजनिक भएपछि लेखा समितिले अध्ययन थालेको थियो ।
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको भन्दै सरकारको आलोचना भएपछि विभागका महानिर्देशक श्रेष्ठ र स्वास्थ्य सचिव कोइरालाको सरुवा भएको थियो । कोइराला हाल प्रधानमन्त्री तथा मन्त्रिपरिद्को कार्यालयमा कार्यरत छन् ।
सरकार र ओम्नी समूहबीच १ अर्ब २४ करोड बराबरका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो ।