काठमाडौं । लगातार भइरहेकाे वर्षाका कारण नेपालका विद्युत आयाेजनाहरु प्रभावित भएका छन् । वर्षा र यसका कारण आउकाे बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
यसरी बन्द भएकाेमा प्राधिकरणकाे २ सय ४० मेगावाटकाे आयाेजना रहेकाे छ । यस्तै निजी क्षेत्रकाे २ सय ५० मेगावाट आयाेजनाकाे उत्पादन बन्द भएकाे हाे । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको बताइएकाे छ ।
प्राधिकरणकाे आयाेजना प्रभावित भएसँगै कटैया, ढल्केबरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ ।
बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १ सय ४४ मेगावाटको कालीगण्डकी ‘ए’ विद्युतगृह शुक्रबार बिहान ८ बजेबाट बन्द भएको छ । कालीगण्डकी नदीमा पानीको बहाव बढेकाले उत्पादन हुन नसकेकाे बताइएकाे छ । यस्तै प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङ्दी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युत्गृह बन्द छन् ।
निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोसीलगायतका विद्युत्गृहको करिब २ सय ४० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरुको करिब १ सय ५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।