पोखरा । लगातारको वर्षाका कारण देशभर गएको बाढीपहिरोले धनजनको ठूलो क्षति भएको छ । बर्षाका कारण आएको पहिरोमा परी गए राति पौने तीन बजे पोखराका विभिन्न स्थानमा चार जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।
पोखरा महानगरपालिका–१८ सराङकोट गोठादीस्थित टङ्कबहादुर थापाको घरमाथिबाट खसेको पहिरोले पुर्दा तीन जनाको मृत्यु भएको छ । सो घटनामा परी घाइते भएका अन्य ६ जनालाई उद्धार गरी मणिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालयले कास्कीले जनाएको छ । थापाको घरमा बिहीबार परिवारमा जन्मदिन मनाउने कार्यक्रम रहेकाले घरमा कति जना थिए र को थिए भन्ने खुल्न नसकेको उनले बताएका छन् । प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।
पोखरा महानगरपालिका–२५ हेमजामा रामचन्द्र अधिकारीको घर पहिरोमा पुरिँदा अधिकारीकी आमा ७० वर्षीया भीमकली अधिकारीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोले तीन वटा बाख्रा पनि पुरिएका छन् ।
पोखरा–१८ छोरेपाटन सिमलटुँडामा चन्द्रबहादुर मगरको घर माथिबाट खसेको पहिरोमा परी मगरसहित उनकी श्रीमती शान्ति र छोरा सुशान मगर सामान्य घाइते भएका छन् । उनीहरुको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अविरल वर्षासँगै पोखराको रामघाटस्थित सेती नदी थुनिँदा सुकुम्वासी बस्ती डुबानमा परेको र स्थानीयवासीलाई राति नै माइकिङ गरी अन्यत्र सुरक्षित स्थलमा लगिएको जनाइएको छ ।
लगातारको वर्षासँगै पहिरो जाँदा म्याग्दीको धौलागिरी गाउँपालिका–६ मराङको रिखामा आज बिहान सात जना बेपत्ता भएका छन् ।
घण्टीवाङ भन्ने ठाउँबाट खसेको पहिरोले दुई परिवारका सात जना बेपत्ता भएका मराङका वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए । उनका अनुसार भीमप्रसाद जुग्जाली र धनबहादुर जुग्जालीको घर पहिरोले बगाएको छ । भीमप्रसादको घरमा चार र धनबहादुरको घरमा तीन जना थिए ।
त्यसैगरी, गएरातिको बर्षाका कारण लमजुङको बेसीसहर नगरपालिका–७, सातबिसेमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।
पहिरोले दीपक तामाङको घर पुरिंदा एकै घरका तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दीपक तामाङ, उनकी श्रीमती बिमाया तामाङ र छोरा सेवाङ तामाङ रहेको लमजुङका प्रहरी नायब उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिएका छन् । प्रहरीका अनुसार अरु तीन जना सामान्य घाइते भएका छन् ।
फाइल फोटो