काठमाडौं। नेपालकाे नयाँ नक्शाप्रति भारतले असहमति जनाउँदै नेपाल सरकारलाई कुटनीतिक नोट पठाएको खुलासा भएको छ । नेपालले आफ्नाे भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा समेट्दै नयाँ नक्शा जारी गरेकाे थियाे ।
राष्ट्रियसभा सदस्य रामनारायण विडारीले यसबारे राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा याे जानकारी दिएका हुन् । नेता विडारीका अनुसार भारत सरकारले असार १० गते नै कुटनीतिक नोट पठाएको थियो । तर परराष्ट्र मन्त्रालयले यसबारे सूचना सार्वजनिक गरेको छैन ।
नेपालको संसदले नयाँ नक्शा अनुसारकाे निशान छापकाे लागि संविधान संशोधन गरिसकेकाे छ ।
भारतका रक्षामन्त्री राजनाथ सिंहले भारतको धार्चुलाबाट लिपुलेक हुँदै तिब्बतको मानसरोवरसम्मको सडक उद्घाटन गरेपछि नेपाल सरकारले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको थियो । तर नेपाल र भारत सरकारबीच वार्ताको वातावरण बन्न नसकेपछि पछिल्लो समय दुई देशबीच सम्बन्ध चिसिँदै गएको छ ।