काठमाडौँ । बुधबार नेपाल एयरलाइन्सका थप एक जना पाइलट र तीन जना उडान कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
एयरलाइन्सका प्रवक्ता अर्चना खड्काका अनुसार पाटन अस्पतालमा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो।
अहिले संक्रमित चार जनालाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल लाने तयारी गरिएको छ।
उनीहरू होटल सोल्टीमा क्वारेन्टिनमा बसेका थिए।
यसअघि पनि एयरलाइन्सका तीन जना पाइलटसहित नौ जनामा संक्रमण पुष्टि भएको थियो।
उनीहरू सबै सशस्त्र प्रहरी अस्पतालमा उपचाररत् छन्।
एयरलाइन्सले आफ्ना पाइलटसहित उडान कर्मचारीलाई सोल्टी होटलमा क्वारेन्टिनमा राख्दै आएको छ।
प्रवक्ता खड्काका अनुसार उनीहरूलाई चार वटा उडानपछि पिसिआर परीक्षण गरेर घर पठाइने गरिएको छ।