रसुवा । काेराेना भाइरस संक्रमणकाे कारण बन्द रहेकाे रुसुवागढी नाकाबाट नेपालमा सामान आउन थालेकाे छ । साेमबार चारवटा चिनियाँ गाडीले मितेरी पुलसम्म ल्याएकाे सामान लिनका लागि नेपालकाे गाडी नाकामा पुगेकाे छ ।
यसअघि नै नाका खाेल्ने सहमति भएपनि सामान आउन सकेकाे थिएन ।
चिनियाँ गाडीले साेमबार जाँचपास प्रक्रिया पूरा गरेर नेपाल आएकाे र नेपालकाे गाडीले ती सामान ल्याउने बताइएकाे छ ।
यसअघि चीनमा काेभिड–१९ काे प्रकाेप तीव्र गतिमा बढ्न थालेपछि नेपालले साे नाकाबाट सामान ल्याएकाे थिएन । गत मााघ १५ देखि बन्द रहेकाे साे नाका खाेल्नका लागि स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्ने सहमति भएकाे थियाे ।
मितेरी पुलमा सामग्री लिन जाने चालक तथा लोड अनलोडका लागि जाने कामदारको दैनिक परीक्षण हुने भएकाे छ । यसअघि सरकारले सिन्धुपाल्चोकको तातोपानी र रसुवाको रसुवागढी नाका एकसाथ सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
रसुवाकाे नाका बन्द हुँदा राजश्व संकलन हुन सकेको थिएन । रसुवागढी नाकाबाट तयारी कपडा, स्याउ, इलेक्ट्रोनिक सामग्री, निर्माण सामग्री, जुत्ता चप्पल, चस्माको फ्रेमलगायतका सामग्री आयात हुने गरेको छ । नेपालबाट भने बाँसको सामग्री, काठका सामग्री, हस्तकलाका सामग्री निर्यात हुने गरेको छ ।