Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कैलालीको भजनी र जोशीपुर डुबानमा


    शुक्रबार, असार १९ २०७७
    790
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • कैलाली । कान्द्रा र काढा नदीमा पानीको बहाव बढेपछि कैलालीको भजनी र जोशीपुर डुबानमा परेको छ। काढामा पानीको बहाव बढेपछि गाउँ पस्दा भजनी र जोशीपुर डुबान र कटान हुन थालेको स्थानीयवासी गङ्गा चौधरीले जानकारी दिइन्।

    भजनी नगरपालिका २, ३, ६ र ८ नं वडाका सयौँ घर डुबानमा परेको बताइएको छ। काढा नदीमा पानीको बहाव बढेपछि पानी बस्तीमा पसेको हो, चौधरी भन्छिन्, कान्द्रा नदी बढ्न थालेको छ। नदीमा पानीको बहाव बढ्दै गए यहाँ थप जोखिम बढ्नेछ।

    भजनी र जोशीपुरका सयौँ घरमा पानी पसेको छ। भजनीका छ परिवार विस्थापित भएर आफन्तकहाँ बसेको चौधरीले बताए। नदीमा पानी भरिएपछि गाउँ पस्यो, भजनी–जोशीपुर हुँदै बौनिया जोड्ने सडकसमेत डुबानमा परेको छ। सडकमा डेढ मिटर पानी पुगेको छ। सडक जलमग्न भएपछि आवतजावतमा समस्या भएको छ।

    भजनीको वडा नं २ स्थित मोहनपुरमा नदीले सयौँ बिघा धानखेती पटानी गरेको छ। भर्खरै धान रोपेको सयौँ बिघा पटानी गरेपछि किसान दुःखी भएका छन्। कान्द्रा नदी गाउँ फर्किएपछि चौधरीको एक बिघा धानखेती पटानी भएको छ। चौधरीसँगै मोहनपुरका ६५ किसानको खेत बालुवाले पुरेको छ। भजनीकै दुःखराम चौधरीले पालेका माछा बगेका छन्। पाँच हजार माछा हालेको थिएँ, सबै बगायो, दुःखरामले भने, एक किलो तौल पुगिसकेका थिए। मलाई लाखौँ घाटा भयो।

    बिहीबार रातिको वर्षापछि काढा नदीको पानी गाउँ पसेपछि जोशीपुर १ राजीपुरमा २५ घर डुबानमा परेका छन्। घरमा पानी पसेपछि घरमा रहेका अन्नपात र लत्ताकपडा भिजेर नष्ट भएका स्थानीयवासी शेरबहादुर साउदले जानकारी दिए। नदीमा पानीको बहाव बढिरहेको छ। नदीमा पानी बढे जोशीपुर डुबान र कटानको जोखिममा पर्छ, साउदले भने, मुक्तकमैया बस्तीमा त दयनीय अवस्था भएको छ।

    भजनी र जोशीपुर डुबानमा परेपछि स्थानीय पालिकाले बाढीको जोखिम बढेमा नागरिकलाई राहत तथा उद्धारका लागि कहाँ राख्ने भन्ने तयारी थालेका छन्। भजनीले जोखिमबाट बच्न पूर्वतयारीस्वरुप उद्धार टोली र उच्च घरलाई तयारी अवस्थामा राखेको १ नं वडाध्यक्ष विधिराम चौधरीले बताए। यहाँ वर्षेनी बाढी र कटान हुन्छ। यहाँका नागरिक हरेक वर्ष बाढीको त्रासमा हुन्छन्।

    बाढी आउने भएपछि यहाँका धेरै किसान चैते धानखेती गर्छन्। जोशीपुरका खगेन्द्र साउदले वर्षेनी डुबानको समस्या झेल्दै आए पनि सरकारले दीर्घकालीन डुबानको समस्या समाधान गर्न पहल नगरेको गुनासो गरे। वर्षात् हुन थाले हामी रातभरि सुत्न सक्दैनौँ, साउदले भने, अन्नपात सबै भिजेर नष्ट भएको छ। अझै वर्षा हुने देखिएको छ। हामी सुरक्षित स्थानको खोजीमा छौँ। रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार