काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक स्थगित भएको छ ।
पार्टीभित्र उत्कर्षमा पुगेको विवादका कारण अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा सहभागी नै नहुने अवस्था सिर्जना भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिलाई भेटेर फर्किएपछि ओलीबिनै बसेको स्थायी समिति बैठकले ओलीसँग वार्ता गरेर सहमति जुटाउने निष्कर्ष निकालेको छ । त्यसका लागि शुक्रबार दिनभर ओली र दाहालबीच छलफल गरेर सहमति जुटाउने जिम्मेवारी बैठकले दिएको छ।
ओलीको अनुपस्थितिमा बसेको बैठकमा दाहालले पछिल्लो विकसित घटनाक्रमका विषयमा ब्रिफिङ गर्दै अब कसरी अघि बढ्ने भन्नेबारे राय मागेका थिए । त्यसपछि बैठकले दुई अध्यक्षलाई सहमति जुटाउन एक दिनको समय प्रदान गरेको हो ।
गत आइतबार प्रधानमन्त्रीले आफ्नो सरकार ढाल्न भारत र पार्टीबाट चलखेल भएको अभिव्यक्ति दिएपछि नेकपाभित्र विवाद चर्किएको हो । विवादकै क्रममा ओलीले बिना परामर्श संघीय संसद अधिवेशन अन्य गर्ने निर्णय लिएपछि विवाद थप उग्र बनेको छ ।