काठमाडौं । नेपाल प्रहरीका पूर्वआइजीपी अच्यूतकृष्ण खरेलमाथि सार्वजनिक जग्गा मिचेको आरोप लागेको छ । खरेल नेपाल प्रहरीका चर्चित पूर्वआइजीपीमा पर्दछन् । उनले धुम्वाराहीस्थित आफ्नो निवासअगाडिको करिब साढे २ रोपनी सार्वजनिक जग्गा मिचेको आरोप लागेको छ । उनको घर अगाडि शिव मन्दिर छ । उक्त मन्दिरसँगै रुखहरुसहितको सार्वजनिक जग्गा छ । पूर्वआइजीपी खरेलका दुई दाजुभाइले १–१ रोपनी किनेको र अरु साढे २ रोपनी पनि दाबी गर्दैआएपछि काठमाडौं महानगरपालिका वडा नम्बर ४ ले सरकारी जग्गा खोजी गर्ने क्रममा त्यो जग्गा फेलापरेको थियो ।
पूर्वआइजीपी खरेलको प्रतिक्रिया छ–‘मेरो पुरानो नक्सामा भएको बाहेक एक इन्च जमिन पनि चाहिँदैन, मेरो नक्सामा भएबाहेकको सार्वजनिक जमिन छुट्याउनुस्, लैजानुस् भनेर वडाध्यक्ष मोहन बिष्टसहित सबैलाई भनिसकेको छु ।’ उनले भने–‘२०३६ मा हामीले ६४ हजार रोपनीका दरले दाजुभाइले जग्गा किनेका हौं । मैले जग्गा हालसाविक पनि गरेको छैन । मैले सरकारी जग्गा दर्ता गराउन चाहेको भए २०३६ लिएको जग्गा २०४७ मा नापी हुँदा नपाई उहिल्यै दर्ता गराइहाल्थें, मलाई मेरोबाहेक अरु चाहिएकै छैन । मैले मेरो जग्गाको सीमानामा रिटेनिङ वाल भने लगाइदिन वडाध्यक्षलाई अनुरोध गरेको छु ।
खरेलले भने, एउटा गुण्डा पक्राउ गराइदिएको थिएँ, त्यसैले मिडियालाई दियो होला । वडाले पार्क बनाउने भनेपछि मैले मेरो नक्साबाहेकको जग्गा दाबी गरेको छैन । वडाध्यक्ष मोहन बिष्टहरु दुई पटक आएर कुरा टुंगिसकेको छ, वडासदस्यहरु सबैलाई थाहा छ । मैले त्यो खाली सरकारी जग्गामा मन्दिर बनाउन लगाएँ, बुबाआमाका नाममा किरियापुत्री कोठा निर्माण गरिदिएँ ।
पूर्वआइजीपी खरेलको घरसँगैको सार्वजनिक जग्गाको विवाद टुंगिसकेको ४ नम्बर वडाका वडाध्यक्ष मोहन बिष्टले बताए । उनले भने, खरेलजीले आफ्नोबाहेक दाबी गर्नुभएको छैन । उक्त जग्गा सरकारकै नाममा छ । ४ नम्बर वडाले ६५ रोपनी अतिक्रमित सरकारी जग्गा सरकारकै नाममा ल्याएको पनि बिष्टले जानकारी दिएका छन् । खरेल र वडाध्यक्ष बिष्टले नमिचेको प्रतिक्रिया दिए पनि धुम्वाराहीका छिमेकीहरुले भने खरेलले अझै पनि सरकारी जग्गा मिचेको दाबी गर्दैआएका छन् ।
तस्वीर अच्यूतकृष्ण खरेलको दुई वटा ट्यांकी भएको घर । इन्सेटमा खरेल र वडाध्यक्ष मोहन बिष्ट ।