काठमाडौं । सरकारले पीसीआर परीक्षणको दायरा बढाउन लागेको छ । कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघिसकेपछि सरकार पीसीआर परीक्षणल बढाउन लागेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० ठाउँमा कोरोना भाइरस परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने भएको छ ।
मन्त्रालयले मेची अस्पताल, डडेल्धुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र काठमाडौं, सशस्त्र प्रहरी अस्पताल बलम्बु, पाल्पा अस्पताल तानसेन, धौलागिरी अस्पताल बागलुङ, धनकुटा अस्पताल, नेपाल प्रहरी अस्पताल र नेपाली सेना अस्पताल काठमाडौँमा प्रयोगशाला स्थापना गर्ने भएको छ ।
अहिले मुलुकभर २३ स्थानमा पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण हुने गर्दछ । मन्त्रालयले सम्भावित सङ्क्रमितको अवस्था हेरेर प्रयोगशाला स्थापना गर्न लागेको जनाएको छ ।
यी नयाँ १० ठाउँसँगै अब ३३ ठाउँबाट कोरोनाको पीसीआर विधिबाट परीक्षण हुनेछ । नयाँ ठाउँबाट कोभिड–१९ को परीक्षण गरे दैनिक १० हजार जनाको परीक्षण गर्न सकिने मन्त्रालयले जनाएको छ । अहिले २३ प्रयोगशालाबाट दैनिक ६ हजार पीसीआर विधिबाट परीक्षण भइरहेको छ । अहिलेसम्म २ लाख ६ हजार २७१ जनाको पीसीआर परीक्षण गरिएको छ । सरकारले असार १५ बाट दैनिक १० हजार जना संक्रमणको आशंका गरिएकाहरुको पीसीआर परीक्षण हुने जानकारी दिएको थियो । त्यही अनुसार नै प्रयोगशाला थप गर्न लागेको छ ।