Nepal Face
  • बुधबार, १२ कार्तिक २०८३
  • भारी बर्षाका कारण बाढीको खतरा बढ्दै


    शुक्रबार, असार १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • फाइल फोटो

    काठमाडौँ । बुधबार रातिदेखि नेपाल–भारत सीमा क्षेत्रका विभिन्न स्थानमा निरन्तर वर्षा भइरहेकाले त्यस क्षेत्रमा बाढी र डुबानको खतरा बढ्दै गएको छ ।
    अब लगातार तीन दिनसम्म ती क्षेत्रसहित नेपालका विभिन्न भूभागमा निरन्तर वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुन सक्रिय भएकाले देशभर बदली भई वर्षा हुने क्रम जारी छ । बीच–बीचमा रोकिए पनि वर्षा जारी रहने छ । सुदूरपश्चिममा तुलनात्मक रूपमा कम वर्षा भए पनि गण्डकी, बाग्मती प्रदेश, प्रदेश १ र २ का विभिन्न क्षेत्रमा तीन दिन भारी वर्षा हुनसक्छ । योसँगै तराईको चुरे क्षेत्रमा लगातार वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुुभयो ।
    यसरी पहाडी भेगसँगै तराई क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले तराईका नेपाल–भारत सीमा क्षेत्रका नदीमा बहाव बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
    चुरेसँगै तराईका क्षेत्रमा मनसुनी वायु सक्रिय रहेकाले त्यस क्षेत्रमा नेपालहुँदै भारत जाने ठूला नदी र स्थानीय नदीमा बहाव बढ्ने सङ्केत देखिएको बाढी पूर्वानुमान महाशाखाका जलविज्ञ सुनील पोखरेलले जानकारी दिनुभयो । त्यसैले सीमावर्ती क्षेत्रका नेपालका बस्ती डुबान र बाढीको चपेटाबाट बचाउन पूर्वतयारी आवश्यक भइसकेको पोखरेलले बताउनुभयो ।
    बिहीबार प्रदेश २ को सप्तरी, सिराहा, धनुषाको धेरै स्थान, सर्लाही, रौतहट, महोत्तरी, बारा, पर्साको केही स्थान, प्रदेश १ को झापा, मोरङ, सुनसरी, उदयपुर, बाग्मती प्रदेशको चितवन, प्रदेश ५ को कपिलवस्तु, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दियाको भारतीय सीमा आसपास धेरै स्थानमा मध्यमदेखि भारी वर्षा मापन भएको महाशाखाले जनाएको छ । ती स्थानको भारतीय सीमा आसपास भई बहने स–साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना दर्शाउँदै तटीय क्षेत्रमा सतर्कताका लागि अनुरोध गरिएको छ ।
    बिहीबार, शुक्रबार र शनिबार प्रमुख र मझौला नदीमा बहाव बढ्दो क्रममा रहनुका साथै कन्काई, कमला, बाग्मती, पश्चिम राप्ती र बबईका केही साना सहायक नदीमा बहाव बढ्ने जनाइएको छ ।
    मनसुनी विपत्तिले बर्सेनि तराईमा ठूलो जनधनको क्षति गर्दै आएको छ । ऊर्जा सिँचाइ तथा जलस्रोत तथा गृह मन्त्रालयको संयुक्त पहलमा बाढी र डुबानको विपत्तिबाट तराईमा जनधनको क्षति रोक्न पहल भइरहेको छ । मन्त्रालयको नेतृत्वमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तराईका नेपाल–भारत सीमा क्षेत्रको बाढी र डुबान नियन्त्रण गर्न योजना बनाएको छ ।
    प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार, जलस्रोत मन्त्रालयमार्फत भारतीय सीमा क्षेत्रसँग जोडिएका नेपालका तराईका जिल्ला बचाउन संयुक्त वार्ता र छलफल अगाडि बढाइएको छ । यो समाचार आजको गोरखापत्रमा चाँदनी हमालले लेखेकी छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार