पोखरा । कोरोना संक्रमणका कारण मृत्यु भएका ब्यक्तिको शब ब्यवस्थापन सुरक्षाकर्मीका लागि चुनौतीपूर्ण बन्दै गएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको शब ब्यवस्थापन गर्न अवरोध गरेपछि पोखरामा बुधबार झडप भएको छ ।
पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधवार राति मृत्यु भएको र मृतकको शव व्यवस्थापनका लागि पोखरा–३२ मजुवामा सेतीनदी किनारनजिककै खाली जमिनमा गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए । उक्त ठाउँमा शव गाड्न नदिने भन्दै स्थानीयले सशस्त्र प्रहरीको गाडी नै तोडफोड गरेका छ । उक्त घटनामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।
शव गाड्न डोजरले खाल्डो खन्न लाग्दा स्थानीयले अवरोध गरेका थिए । अवरोध हटाउन प्रहरीले ८ राउन्ड हवाई फायर गर्नुपरेको कास्की प्रहरीका प्रवक्ता डिएसपी सुवास हमालले बताए। मृतक पुरुषमा मधुमेह र निमोनिया पनि बिरामी रहेको बताइएको छ ।
उपचारका लागि ८ गते पोखरा ल्याइएका उनमा कोरोना सङ्क्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो । केही दिनअघि पोखरामै मृत्यु भएका ५८ वर्षेको शव व्यवस्थापनमा पनि यस्तै अवरोध भएको थियो । उनको शव पोखराको वडा नम्बर ११ र २० को साँधमा सेती नदी किनारमा गर्दा स्थानीयले अवरोध गरेका थिए ।
प्रदेश सरकारले बनाएको कोरोना सङ्क्रमितको शव व्यवस्थापन सम्बन्धी कार्यविधिमा स्थानीय तहसँगको सहकार्य र समन्वयमा प्रशासनले शव व्यवस्थापन गर्ने उल्लेख छ । शव व्यवस्थापनमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिन्छन् ।