पर्वत । पर्वतको कुश्मा नगरपालिका-१० पिपलटारीको सिमखेत र फलेवास नगरपालिका-३ शंकरपोखरी जोड्ने मल्याङ्दी खोलामाथि झोलुंगे पुल निर्माण गर्न स्थानीयबासीले माग गरेको झण्डै आधा शताब्दी बितेको छ।
तर पनि अझै उनीहरूको माग पूरा हुनसकेको छैन। वर्षौंदेखि पुलको माग गर्दा पनि अझै सुनुवाइ नभएको स्थानीयबासीको गुनासो छ।
पुल नहुँदा जोखिम मोलेर स्थानीयबासी खोला वारपार गर्न बाध्य भएका छन्।
गाउँ नजिकैको सिसाठाँटीमा पुल बनाइदिन आग्रह गर्दै तत्कालीन अञ्चलाधीशको कार्यालय बागलुङ गएको फलेबास–३ सिमखेतका ५६ वर्षीय शालिग्राम अधिकारीलाई अझै सम्झना छ।
‘उतिबेला अहिलेको जस्तो गाडीको सुविधा थिएन’, उनले भने, ‘बाटो खर्च बोकेर बुवा दुई दिन लगाएर बागलुङ पुगी अञ्चलाधीशको कार्यालयमा पुल बनाइदिन बिन्ती चढाएर आउनुभएको थियो, तर अहिलेसम्म पुल बनेन।’
२०३६ मा बनेको ज्ञादी सिँचाइ आयोजनाको नहर उद्घाटन गर्न आउँदा तत्कालीन राजा वीरेन्द्रले लट्ठा बोक्न सके पुलका लागि बजेट पठाउने आश्वासन दिएका थिए।
‘लट्ठा बोक्न भने बुटवल पुग्नुपर्ने अवस्था थियो। त्यो आँट कसैले नगरेपछि राजाले आश्वासन दिए पनि पुल बन्न सकेन’, स्थानीय अगुवा महेन्द्रबहादुर कार्कीले भने।
कुश्मा-१० को पीपलटारी र फलेबास-३ को शङ्करपोखरीलाई जोड्ने मल्याङ्दी खोलामा पुल नहुँदा स्थानीयबासी काठको साँघु बनाएर वारपार गरिरहेका छन्।
अञ्चलाधीशको कार्यालय हुँदै तत्कालीन जिविस, विभाग, मन्त्रालयलगायत सबैजसो सरकारी निकायमा पुल बनाइदिन माग गर्दै स्थानीय डेलिगेसन गइसकेका छन् तर अहिलेसम्म कतैबाट पनि पुल निर्माणका लागि पहल भएको छैन।
मल्याङ्दी खोला वर्षातका पाँच महिना तर्नै नसकिने गरी उर्लिन्छ । त्यही समय धान, कोदो रोप्न र घाँस दाउरा गर्नुपर्ने भएकोले खोला वारपार नगरी स्थानीयबासीलाई सुखै छैन।
शङ्कर पोखरीको जनसहयोगी माविमा पीपलटारीका ५० भन्दा धेरै विद्यार्थी यही खोलामा हेलिएर आउजाउ गर्दै आएका छन्। कक्षा ११ र १२ पढ्न शङ्कर पोखरीतर्फका विद्यार्थी पीपलटारीको पूर्णेश्वर माविमा पुग्नुपर्ने अवस्था छ।
‘यहाँ पुलको माग गर्दागर्दै अघिल्लो पुस्ताले जीवन बिताए’, स्थानीय शिव अधिकारीले भने, ‘पहिला झोलुङ्गे पुलको कुरा थियो। अहिले मोटरेबल पुलको चर्चा छ। पूरा हुने कहिल्यै होइन।’ दुवै गाउँ जोड्न चार वर्षअघि सडकको ट्रयाक खुलिसकेको छ।
त्यसपछि मोटरेबल पुल निर्माण हुनेमा स्थानीयबासी आशावादी थिए।
तर, निर्माणको इस्टिमेट भइसकेको पुल पनि गतवर्ष स्थगन भएको खबरले उनीहरूलाई निराश बनाएको छ। फलेबास–३ का वडाअध्यक्ष अर्जुनबहादुर कार्कीले भने, ‘सरकार फेरिएपछि बजेट आएन।’
अब मुख्यमन्त्री कार्यालयमा पुगेर धर्ना दिने तयारी भएको उनले बताए।
पुल नहुँदा खोला वारपार गर्ने स्थानीय दुर्घटनामा पर्ने गरेका छन्।